
सरकारले कोरोनाको नयाँ भेरियन्टसहित कोभिड–१९ महामारीको तेस्रो लहर नियन्त्रणका लागि रात्रिकालीन डान्स बार र दोहोरी साँझहरू सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।
शुक्रवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ‘नयाँ भेरियन्ट ओमिक्रोन सहितको कोभिड–१९ महामारीको तेस्रो लहर नियन्त्रणसम्बन्धी आदेश २०७८ जारी गर्दै डान्स बार सञ्चालनमा रोक लगाएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
आदेशअनुसार सिनेमा हल कूल क्षमताको आधा दर्शक राखेर सञ्चालन गर्न पाइने तथा रात्रिकालीन रेस्टुरेन्ट सामाजिक दूरी कायम गरी सञ्चालन गर्न पाइने र भीडभाड कम गर्नुपर्नेछ ।
विवाह ब्रतबन्धजस्ता कार्यमा २५ जनाभन्दा बढी भेला हुन नपाइने समेत जनाइएको छ ।
मन्त्रिपरिषद् बैठकले सबै प्रकारका जुलुस, धर्ना, विरोध प्रदर्शनमा रोक लगाउने निर्णय समेत गरेको छ ।