
रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीबाट अलग भएका महिला नेतृहरूको समूहले वैकल्पिक महिला संगठन नामको नयाँ राजनीतिक महिला संगठन घोषणा गरेका छन् ।
विवेकशील साझा पार्टीभित्रको अवाञ्छित द्वन्द्वबाट वैकल्पिक राजनीति गलत दिशामा जान सक्ने खतरा रहेको भन्दै ‘मूल–बाटो’ पक्षका नेताहरूले नयाँ महिला संगठन घोषणा गरेका हुन् ।
महिला संगठनको केन्द्रीय संयोजकमा विद्या श्रेष्ठ महर्जन चयन भएकी छन् ।
काठमाडौंको रैथाने समुदायको हकहितका निम्ति विभिन्न अभियानमार्फत संघर्षरत श्रेष्ठ लामो समयदेखि लोकतान्त्रिक राजनीतिमा सक्रिय छिन् ।
‘महिलाका मुद्दा बोक्ने राजनीति कसैले गरेनन्, त्यसैले महिला नै अघि सर्नुपर्छ भन्ने भावनाले वैकल्पिक महिला संगठनको नेतृत्व लिएकी हुँ,’ श्रेष्ठले भनेकी छन् । उनले यसअघि विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय संघ संस्थाहरूको नेतृत्व गरिसकेकी छन् ।
समावेशितालाई महत्त्व दिएर बनाइएको केन्द्रीय समिति २५ सदस्यीय रहने वैकल्पिक राजनीतिको मूलबाटो पक्षधर नेतृत्वहरूको तर्फबाट जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरूको तर्फबाट प्रवक्ता हरीशप्रसाद भट्टले विज्ञप्ति जारी गरेका छन् ।
पहिलो चरणमा १७ सदस्यको नाम घोषणा भएको भट्टले बताएका छन् ।