
एक आँखा अस्पतालको तथ्यांक हेर्दा सामुदायिक विद्यालयमा पढ्नेभन्दा निजी विद्यालयमा पढ्ने र शहरी क्षेत्रमा बस्ने विद्यार्थीका आँखामा धेरै समस्या रहेको पाइएको छ ।
तीन वर्षदेखि विद्यालयमा गएर आँखा परीक्षण र उपचार गर्दै आएको विराटनगर आँखा अस्पतालको तथ्यांक हेर्दा सामुदायिकमा भन्दा निजीमा पढ्ने विद्यार्थीमा आँखाको समस्या दोब्बर रहेको पाइएको हो ।
नेत्र ज्योति संघ र दातृ संस्था अरबीसको सहयोगमा विराटनगर आँखा अस्पतालले क्षेत्रीय आँखा उपचार कार्यक्रमअन्तर्गत सुनसरी र विराटनगर महानगरपालिकाका सबै विद्यालयमा आँखा शिविर सञ्चालन गरेको थियो ।
सुनसरी र विराटनगर महानगरपालिकास्थित ६३३ विद्यालयका २ लाख ५३ हजार ९१७ जना विद्यार्थीको आँखा परीक्षण गर्दा सामुदायिकमा अध्ययनरतमा ३ र संस्थागत विद्यालयमा अध्ययनरत ६ प्रतिशत बालबालिकामा दृष्टि दोष पाइएको अस्पतालका आँखा उपचार कार्यक्रम संयोजक सुधीर ठाकुरले बताए ।
२ लाख ५३ हजार ९१७ विद्यार्थीमध्ये १० हजार ३६ जना विद्यार्थीमा दृष्टि दोष देखिएको उनले बताए । उनका अनुसार त्यसमध्ये २ हजार ९३२ जनाले पहिलादेखि नै चस्मा लगाइरहेका थिए ।
दृष्टि दोष पत्ता लागेका ७ हजार १ सय ४ सहित सबै विद्यार्थीलाई कार्यक्रमअन्तर्गत निःशुल्क नयाँ चस्मा प्रदान गरको उनले बताए ।
दृष्टि दोष देखिएका ७७५ जना विद्यार्थीको आँखामा औषधी उपचार र १०५ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरिएको ठाकुरले बताए ।
कोरोनाको समयमा अनलाइन माध्यमबाट पठनपाठन गर्दा आँखामा समस्या थपिन सक्ने चिकित्सकहरूको चिन्ता छ ।
स–साना बालबालिकाले पनि मोबाइलविना खाना नखानु, सुत्दा मोबाइल हेरेर मात्रै सुत्नु, बाहिर हिँडडुल वा घुमफिर नगर्नु, किताबमा मात्रै ध्यान दिनु जस्ता कारणले पनि बालबालिकाको आँखा कमजोर भएको चिकित्सकहरू बताउँछन् ।
बाल नेत्र रोग विशेषज्ञ डा. पवन श्रेष्ठले सामुदायिक विद्यालय र निजी विद्यालयका विद्यार्थीको खानपानले पनि फरक पार्ने गरेको पाइएको छ ।
निजी विद्यालयमा पढ्ने धेरै बालबालिका शहरमा बस्ने र उनीहरूले जङ्क फूड धेरै खाने तथा गाउँमा बस्ने बालबालिकाहरूले बाह्यभन्दा घरेलु खानेकुरा बढी खाने गरेकाले यस किसिमको अन्तर पाइएको उनको बुझाइ छ ।
चस्मा लगाएका विद्यार्थीले नियमित चस्मा लगाए यसको अन्त्य हुने श्रेष्ठले बताए । विद्यालयमा शिक्षकले र घरमा अभिभावकले बालबालिकालाई नियमित चस्मा लगाउन प्रेरित गर्नुपर्ने उनको सुझाव छ।
चस्मा नलगाएपछि आँखाको हेर्ने क्षमता हराउँदै गएर आँखा सुस्त हुने र अन्धोपनाको जोखिम समेत हुनसक्ने उनले बताए ।
दूर दृष्टि दोष भएका बालबालिकालाई प्रत्येक ६/६ महिनामा नियमित आँखाको जाँच गराउन पनि उनको सुझाव छ ।
घरभित्र मोबाइल, कम्प्युटर, टीभीमा धेरै भुल्न नदिन र बाहिर शारीरिक खेलहरूमा फोकस गराउन समेत उनले सुझाव दिए ।
मोबाइल, टीभीजस्ता डिभाइसले दूरदृष्टिको समस्या निम्त्याउने गर्छ ।
सामुदायिक विद्यालयभन्दा निजी विद्यालयका विद्यार्थीको आँखामा समस्या हुनुको अर्को कारण विद्यालयको भौतिक संरचना पनि भएको अस्पतालका प्रमुख कुमार पृथुले बताए ।
प्रायः निजी स्कूलका संरचना कंक्रिटले बनेका र साँघुरो हुने भएकाले टाढासम्म हेर्न नमिल्दा पनि दूरदृष्टिको समस्या हुने गरेको उनको निष्कर्ष छ ।
शरीरको सबैभन्दा संवेदनशील अंगको रूपमा रहेको आँखालाई ध्यान नदिई आधुनिक प्रविधिको प्रयोगका कारणले बालबालिकामा दृष्टि दोषको समस्या धेरै हुने गरेको निष्कर्ष समेत उनले सुनाए ।