११ साउन २०८३, सोमबार

अन्तर्राष्ट्रिय कराते प्रतियोगिताका लागि फ्रान्स र बेलायत जाने टोलीको बिदाइ

अन्तर्राष्ट्रिय कराते प्रतियोगिताका लागि फ्रान्स र बेलायत जाने टोलीको बिदाइ

दुई फरक राष्ट्रमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुने दुई पुरुष खेलाडीसहित चार सदस्यीय नेपाली कराते टोलीलाई सोमवार बिदाइ गरिएको छ ।

टोलीले पहिले फ्रान्सको पेरिसमा हुने पेरिस ओपन कराते प्रतियोगितामा सहभागिता जनाउने छ । 

सिनियर एकल कातामा सुमन तिमल्सिना र ७५ केजीमुनि सरोज कार्कीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । 

टिम व्यवस्थापकमा सागा टुर्स एन्ड ट्राभल्स प्रा.लि. का निर्देशक स्वच्छम गुरुङ तथा अफिसियलमा सजना कुँवर छन् । सुमन सागाका ब्रान्ड एम्बासडर पनि हुन् । जनवरी २१ देखि २३ तारिखसम्म हुने प्रतियोगितका लागि टोली मंगलवार पेरिस प्रस्थान गर्दैछ ।

पेरिसपछि चार सदस्यीय टोली नै जनवरी २४ मा लन्डन जाने कार्यक्रम छ । त्यहाँ खेलाडीले डब्ल्यूटीकेए युरोपियन ओपन कराते प्रतियोगितामा सहभागी हुनेछ । प्रतियोगिता जनवरी ३० तारिखमा हुनेछ । लन्डनमा पनि सुमनले सिनियर एकल काता तथा सरोजले ७५ केजीमुनि तौलसमूहमा नै प्रतिस्पर्धा गर्ने छन् ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का पूर्व निर्देशक डा. प्रकाश प्रधान, नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस), नेपाल गोजुरियो कराते डो संघ एवं एसियाली गोजुरियो कराते महासंघका महासचिव बीआर मित्र, राखेपअन्तर्गत संघ संस्था समन्वय शाखाका नासु राजेश श्रेष्ठ र एकेएफ रेफ्री समेत रहेका मानसिंह डोजोका प्रमुख महेश महर्जनले सोमवार त्रिपुरेश्वरस्थित राखेप हातामा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे । 

टोलीका लागि ट्रयाक सुट अध्यक्ष श्रेष्ठले प्रायोजन गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्