लामो समय पानीमाथि पद्मासन गरेर नेपाली युवाले विश्व कीर्तिमानी राख्न सफल भएका छन् ।
बागमती प्रदेशका विकर्णकुमार श्रेष्ठले डेढ घण्टा लगातार पानीमाथि पद्मासन गरेर शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन गरी वर्ल्ड बुक अफ रेकर्डमा नाम दर्ता गराउन सफल भएका हुन् ।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले श्रेष्ठलाई वर्ल्ड बुक अफ रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरे । मन्त्री निवास पुल्चोकमा गरिएको संक्षिप्त कार्यक्रममा श्रेष्ठलाई मन्त्री अथकले सो प्रमाण पत्र हस्तान्तरण गरेका हुन् ।
त्यसक्रममा मन्त्री अथकले रेकर्ड कायम राख्न सफल श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए । साथै आगामी दिनमा समेत युवाहरुलाई प्रेरित गर्ने खालका यस्तै गतिविधिमा क्रियाशील रहन समेत मन्त्री अथकले आग्रह गरे ।
सन् २०२१ अगस्ट २ मा स्कोलाष्टिक फाउण्डेशनले आयोजना गरेको शिक्षासम्बन्धी कार्यक्रमको सञ्चालनका बेला श्रेष्ठले ९० मिनेटसम्म पानीमाथि पद्मासन गरेका थिए । यो रेकर्ड विश्वमा नै पहिलो पटक कायम भएको स्कोलाष्टिक फाउण्डेशनका अध्यक्ष प्रज्वल भण्डारीले दाबी गरे ।