
भारतको राजधानी नयाँदिल्लीमा सरकार चलाइरहेको आम आदमी पार्टी (आप) अब पञ्जाबमा समेत सरकार बनाउन खोज्दैछ ।
चुनाव हुनुअघि भइरहेका मत सर्वेक्षणमा आप पार्टीले विधानसभा चुनावमा राम्रो नतिजा ल्याउने अनुमान सार्वजनिक भइरहेका छन् ।
आपका प्रमुख तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले चुनावपछि पञ्जाबमा भगवंत मानलाई मुख्यमन्त्री बनाउने घोषणा गरेका छन् । भगवंतलाई आपले मुख्यमन्त्रीको रूपमा प्रस्तुत गरेको छ ।
आपले जनताबाट प्रस्तावित मुख्यमन्त्रीबारे राय माग्दा ९३.३ प्रतिशतले भगवंतको पक्षमा मत दिएका केजरीवाललाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रस्तावित मुख्यमन्त्रीबारे २१ लाख जनताले मत जाहेर गरेका जनाइएको छ ।
सत्तारुढ दल भारतीय कांग्रेसबाट वर्तमान मुख्यमन्त्री चरणजीत सिंह चन्नी र प्रदेश अध्यक्ष नवजोतसिंह सिद्धुलाई मुख्यमन्त्रीको रूपमा हेरिएको छ ।