
अहिले मुलुकमा कोरोना संक्रमण दर ह्वात्तै बढेको छ । स्वास्थ्य मन्त्रालयको मंगलवारको तथ्यांकअनुसार एकै दिन १० हजार २५८ जना नयाँ संक्रमित भेटिए ।
यही गतिमा संक्रमण बढ्दै जाने हो भने अकल्पनीय अवस्था आउन सक्ने जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे बताउँछन् । उनले मापदण्ड पालना र स्मार्ट लकडाउनका विषयमा पनि प्रश्न उठाएका छन् ।
‘पहिलो र दोस्रो लहरमा तमाम कमजोरीका बाबजुद परीक्षण वडावडाबाट गरिएको थियो, कन्ट्याक्ट ट्रेसिङ हुन्थ्यो, अहिलेभन्दा मापदण्डको अनुगमन हुन्थ्यो, क्वारेन्टिन र आइसोलेसन केन्द्र सबैतिर थिए,’ उनले भनेका छन्, ‘के हामी हरेक क्षेत्रमा झनपछि झन ओरालो लाग्दै गएको हो ? सरकारको नागरिकप्रतिको दायित्व हराउँदै गएको हो ?’
तेस्रो लहरलाई नियन्त्रणबाहिर जान नदिन १२ वटा सुझाव दिएका छन् ।
१. सरकारी ल्याब र हरेक वडाबाट निःशुल्क पिसिआर परिक्षण गर्ने व्यवस्था होस् ।
२. प्राइभेट अस्पताल तथा ल्याबमा ५०० रूपैयाँमा पीसीआर टेस्ट होस् ।
३. एन्टिजेन टेस्टको रेकर्ड र रिपोर्टिङ हुने व्यवस्था लागू होस् ।
४. कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी होस् ।
५. संक्रमित आइसोलेसनमा बसे नबसेको निगरानी होस् ।
६. सीमानाकामा कडाइ, परिक्षण, क्वारेन्टिन र आइसोलेसनको व्यवस्था होस् ।
७. प्रहरी प्रशासनद्वारा जनस्वास्थ्यका मापदण्डको प्रभावकारी अनुगमन होस् ।
८. हरेक स्वास्थ्य संस्था र टोल र क्लब आदिबाट निशुल्क मास्क वितरण होस् ।
९. हरेक स्वास्थ्य संस्थामा कोभिडका बिरामीको निशुल्क उपचारको लागि औषधि उपकरण तम्तयार होस् ।
१०. खोपमा देखिएको ढिलासुस्ती हटोस् । हरेक स्वास्थ्य संस्था र स्कुलमा खोप केन्द्र राखेर दिनमा १० लाख जनालाई खोप दिने व्यवस्था होस् ।
११. स्थानीय निकाय र प्रदेश सरकारको सक्रियता बढोस् ।
१२. आम नागरिक, व्यवसायी तथा देशकै अर्थतन्त्रको लागि लकडाउनमा नजाने प्रत्याभूति होस् ।