
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढिरहेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहमा उनले पुराना गलत राजनीतिक शैली दोहोर्याउने छुट रास्वपालाई नरहेको बताए ।
राजनीति कस्तो हुनुपर्छ भन्ने विषयमा नयाँ बहस (डिस्कोर्स) शुरू भएको भन्दै उनले जनताले विगतमा गलत भनेर आलोचना गरेका अभ्यासलाई निरन्तरता दिन नहुने बताए । 'देशमा नयाँ राजनीतिक संस्कारको शुरूआत भएको छ । हिजो जुन राजनीतिक शैलीलाई गलत भनेर प्रश्न गर्यौं, त्यही शैलीमा राजनीति गर्ने छुट हामीलाई छैन,' उनले भने, 'राजनीति बारेको बुझाइ र संस्कार दुवै बदल्न जरुरी छ । जुन दलहरूको काम गर्ने शैलीको हामीले विरोध गरेका थियौं, त्यही शैलीलाई हामीले अपनाउनु हुँदैन ।'