
कोरोना भाइरस संक्रमणको कहरका कारण मोरङका सरकारी कार्यालयहरू बन्द हुन थालेका छन् ।
मालपोत कार्यालय विराटनगरका ८ जना कर्मचारीमा कोरोना संक्रमण भएपछि कार्यालय बन्द गरिएको छ ।
सोमवार ६ जना र मंगलवार थप २ जना कर्मचारीमा संक्रमण देखिएपछि कार्यालयबाट प्रदान हुने सम्पूर्ण सेवा केही समयका लागि बन्द गरिएको कार्यालय प्रमुख लोकबहादुर भण्डारीले बताए ।
यसैबीच, कोशी अस्पतालमा ७५ जनामा कोरोना संक्रमण भएपछि सेवा दिन समस्या भएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट चुमनलाल दासले बताए । उनका अनुसार २७ नर्स, ११ डाक्टर, २ जना प्रशासनका कर्मचारी, २२ जना कार्यालय सहयोगी र सरसफाइकर्मी गरी ७५ जनामा कोरोना पुष्टि भएको छ ।
विभागीय प्रमुखहरू नै पोजेटिभ देखिएपछि अस्पतालले बिरामीका लागि सेवा दिन थप समस्या भएको छ । स्वास्थ्यकर्मीमा समस्या थपिँदै गए आपतकालीन बाहेकका सेवा सञ्चालन गर्न समस्या हुने उनले बताए ।
जिल्ला प्रशासन कार्यालय मोरङले पनि आलोपालो प्रणाली शुरू गरेको छ । बुधवारदेखि कार्यालयबाट प्रवाह हुने सेवामा आलोपालो प्रणाली लागू गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङका सूचना अधिकारी महेशराज तिम्सिनाका अनुसार आइतवार र बुधवार सुन्दरहरैंचा, बुढीगंगा र जहदा गाउँपालिकाका सेवाग्राहीलाई सेवा प्रदान गरिने छ भने सोमवार र बिहीवार विराटनगर महानगरपालिका, कटहरी गाउँपालिका र धनपालधान गाउँपालिकाका सेवाग्राहीलाई सेवा प्रदान गरिने छ ।
मंगलवार र शुक्रवार बेलबारी, ग्रामथान र केराबारीका सेवाग्राहीलाई सेवा दिने उनले बताए । मातहतका निकायलाई भीडभाड नगरी सेवा दिन निर्देशन गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।