
नेपालमा सञ्चालनमा रहेको दर्जनौं मसला उद्योगले मरिच अभाव भएको भन्दै आयात खुलाउन माग गरेका छन् ।
मसला उद्योगका लागि अत्यावश्यक कच्चा पदार्थको रूपमा प्रयोग हुने कालो मरिच नहुँदा मसला उत्पादन बन्द हुँदै उद्योग नै बन्द हुनसक्ने चिन्ता सम्बन्धित उद्योगीले गरेका छन् ।
मसला उद्योगका लागि आवश्यक कच्चा पदार्थ अभाव भएकाले तत्काल आयात गर्न अनुमति दिनुपर्ने र मातहतका मन्त्रालयलाई सिफारिश गरिदिन माग गर्दै ५/७ उद्योगीले उद्योग विभागमा निवदेन नै दिएका छन् ।
उद्योग विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीका अनुसार उद्योगीले आवश्यक कच्चा पदार्थ (मरिच) अभाव भयो भनेर निवेदन दिएका छन् । उद्योगीको निवेदनपछि विभागले यसको समस्या समाधान गर्न उद्योग मन्त्रालयलाई नै पत्र पठाएको पराजुलीले जानकारी दिए ।
नेपालमा ६ महिनादेखि मरिच आयात भएको छैन । मसला उद्योगको लागि आवश्यक मरिच नहुँदा उत्पादन नै घट्ने र अभाव कायम नै रहिरहने हो भने उद्योग बन्दै हुनसक्ने चिन्ता उद्योगीको छ ।
यसका लागि सरकारले बेलैमा सहजीकरण गरिदिनुपर्ने नेपालमा सबैभन्दा बढी मरिचको खपत गर्ने एक मसला उद्योगीको भनाइ छ ।
उत्पादनको करीब ६० देखि ७० प्रतिशतसम्म मसला आफ्ना उत्पादन निर्यातसमेत गर्ने उक्त उद्योगले सरकारलाई आवश्यक कच्चा पदार्थ आयातमा सहजीकरण गर्न माग गरेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक २०७८/७९ वर्षको दुई महिनामा ११ लाख ६९ हजार ३४३ केजी मरिच आयात भएको छ । यस्तो मरिचको आयात मूल्य ५३ करोड ६३ लाख रुपैयाँ छ ।
त्यसपछि चार महिनादेखि हालसम्म मरिच आयात भएको छैन ।
नेपालको एउटै उद्योगले वर्षको ७ लाख केजी मरिच प्रयोग गर्ने भएकाले पनि थप मरिच आयात गर्न पाउनुपर्ने उद्योगीको दाबी छ । मरिच सकिएकाले उद्योग चलाउनका लागि तत्काल आयात खुलाउनुपर्ने उद्योगीको माग छ ।
मरिच आयात खुलाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग विभागकै प्रस्तावअनुसार प्रक्रिया अगाडि बढाइसकेको पनि जानकारी दिएको छ ।
आयात खुला गर्ने निर्णय मन्त्रिपरिषद्बाट हुनुपर्ने भएकाले मन्त्रालयले प्रस्ताव गरेपनि निर्णय भएर भने आएको छैन ।
उद्योगमा आवश्यक कच्चा पदार्थ अभाव भयो त्यो खुलाइदिनुपर्यो भन्ने माग आएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले बताए ।
रेग्मीले भने, ‘मरिच नेपालमा उत्पादन हुँदैन । नेपालमा उत्पादन नहुने भएकाले उद्योगका लागि आवश्यक कच्चा पदार्थ अभाव हुन दिनु हँुदैन भनेर आवश्यक छलफल भई प्रस्ताव समेत अगाडि बढिसकेको छ।’
उद्योगहरूमा कच्चा पदार्थको अभाव हुन नदिन नेपाल सरकारले आपूर्ति खुलाइदिनुपर्ने तर्क पनि प्रवक्ता रेग्मीको छ । उनले बर्सेनि कति मरिच चाहिन्छ भन्ने तथ्यांक उद्योगले राख्ने भएकाले उद्योगत तथ्यांक भने उतै सोध्नुपर्ने बताए ।
उद्योग विभागले पनि व्यवसायीलाई परेको सस्याको बारेमा मन्त्रालयलाई अवगत गराएको उल्लेख छ ।
विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार उद्योगी व्यवसायीले कच्चा पदार्थ अभाव भयो भनेर गुनासो गर्न आएका थिए । त्यो विषयमा नीतिगत निर्णय गर्नुपर्ने रहेछ भनेर मन्त्रालयलाई जानकारी गराइसकिएको छ । त्यो विषयमा के निर्णय भने भन्ने विषयमा भने कुनै जानकारी आएको छैन ।
उद्योगीले कच्चा पदार्थ नै नपाएर उद्योग बन्द हुने अवस्था आयो भनेपछि समस्या समाधानका लागि विभागले औपचारिक पत्र लेखेको महानिर्देशक तिवारीले जानकारी दिए ।
कच्चा पदार्थ ल्याउन पाउनुपर्छ– उद्योगी दुगड
उद्योगीले आवश्यक कच्चा पदार्थ सिधै आयात गर्न पाउनुपर्ने माग उद्योग मन्त्रालयसमक्ष गरेका छन् ।
मसला उद्योगमा सबैभन्दा बढी प्रयोग हुने मरिच यस्तो उद्योगका लागि आवश्यक कच्चा पदार्थ हो ।
यसको अभाव हुन नदिन र उद्योग बन्द नहोस् भनेर गरिएको मागलाई मन्त्रिपरिषद्को निर्णयबाटै दिनुपर्ने उद्योगी मोतिलाल दुगडको भनाइ छ ।
नेपालमा सबैभन्दा बढी मरिच खपत गर्नेमध्येको एक सेञ्चुरी मसला उद्योगका सञ्चालक दुगड उद्योग बन्द हुनबाट जोगाउन पनि सरकारले आवश्यक कच्चा पदार्थ उपलब्ध गराउन लागेको बताउँछन् ।
मरिच सेञ्चुरीले जस्तै डाबर नेपालले पनि धेरै खपत गर्छ ।
मसला बनाउन मरिच अनिवार्य हुने हुँदा उद्योगीले आवश्यक कच्चा पदार्थ उपलब्ध गराइदिन सरकारसँग गरेको माग अनुसार नै सरकारले प्रक्रिया अगाडि बढाएको हुनसक्ने बुझाइ दुगडको छ ।
उनले भने, ‘कच्चा पदार्थ नदिए उद्योग बन्द हुन सक्छ । त्यसैले उद्योग बन्द हुनबाट जोगाउन पनि सरकारले सहजीकरण गर्नुपर्ने हुन्छ ।’
दुगडले प्रश्न गरे, ‘दूध उद्योगले दूध नपाउँदा उद्योग कसरी चल्छ ? त्यस्तै मसला उद्योगपनि मरिच नभई चल्छ ?’ ‘कच्चा पदार्थ नपाएर उद्योगमा लगानी गरेको ३ सय करोड डुबाउनु त भएन नि !’