
काठमाडौं उपत्यका लगायत देशका मुख्य शहरमा सिटामोल लगायतका औषधि अभाव भएको गुनासो आइरहँदा सरकारले सिटामोल सहितका अन्य औषधिको अभाव नहुने विश्वास दिलाएको छ ।
सबै प्रदेशमा गरी १ करोड ३३ लाख ४२ हजार ट्याब्लेट सिटामोल वितरण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सिटामोल लगायत औषधिको अभाव नभएको जानकारी गराए । उनले केन्द्रीय मेडिकल स्टोर बाराबाट ७ वटै प्रदेशलाई सिटामोल वितरण गरिएको बताए ।
१ नम्बर प्रदेशको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरलाई २७ लाख ६४ हजार ट्याब्लेट सिटामोल वितरण गरिएको उनले जानकारी दिए ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनुषालाई २१ लाख ३० हजार, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडालाई १० लाख ९८ हजार ट्याब्लेट सिटामोल पठाइएको छ ।
गण्डकीको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पोखरालाई १८ लाख, लुम्बिनीको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवललाई २७ लाख ३० हजार, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र नेपालगञ्ज र कर्णाली प्रदेशलाई समेत गरी १० लाख २० हजार र सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीलाई १८ लाख ट्याब्लेट सिटामोल वितरण गरेको उनले बताए ।
सबै प्रदेशमा गरी १ करोड ३३ लाख ४२ हजार ट्याब्लेट वितरण गरिएको छ । सो मात्रामा सिटामोल वितरण गरेर पनि ११ लाख ५८ हजार सिटामोल मौज्दात रहेको अधिकारीको भनाइ छ । केन्द्रीय मेडिकल स्टोर बारा पथलैयाले पारासिटामोल ५०० एमजीको वितरण गरेको जनाइएको छ ।
‘सिटामोल छ, सञ्चित नगरौं’
सिटामोलको औषधि अभावलाई ध्यानाकर्षण गर्दै नेपाल औषधि उत्पादक संघ र सरकार मातहत रहेको नेपाल औषधि लिमिटेडले पनि सिटामोल उत्पादनलाई बढाएको छ । नेपाल औषधि लिमिटेडका महाप्रबन्धक मोहम्मद सफिउल्लाहले कोरोनाका कारण बजारमा सिटामोलको अभाव भएको बताए ।
कोरोना बढ्ने हल्लापछि सर्वसाधारणले धेरै सिटामोल सञ्चित गर्न थालेको आरोप लगाउँदै महाप्रबन्धक सफिउल्लाहले भने, ‘केही दिनदेखि सर्वसाधारणसमेत १–२ पत्ता सिटामोलका लागि औषधि लिमिटेडमा आउने गरेका छन् ।’ २ दिनमा ६ लाख सिटामोल उत्पादन भइरहेको जानकारी दिँदै उनले मौसम परिवर्तनले गर्दा मानिसमा रुघाखोकी, ज्वरो आउने भएकाले हवात्तै माग बढेको बताए ।
शुक्रवार मात्र शिक्षण अस्पताल वरिपरि भएका हरेक फार्मेसीमा २ हजार ५०० ट्याब्लेटका दरले सिटामोल वितरण गरिएको जानकारी दिँदै उनले हरेक अस्पतालमा लिमिटेडले सिटामोल पुर्याउने बताए । सिटामोल सञ्चित गर्ने परिपाटीको अन्त्य हुनुपर्ने उनको भनाइ छ ।
औषधि लिमिटेडमा खरिदको झन्झटिलो प्रक्रिया र खरिदको सिलिङले पनि औषधि तथा सिटामोल उत्पादनलाई गाह्रो पारिरहेको उनले बताए ।
२ करोडभन्दा बढी उत्पादन
नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजङ्ग पाण्डेले पछिल्लो समय सिटामोल उत्पादन बढाएको बताए । सिटामोल नेपाली औषधि उत्पादकले धानिरहेको भन्दै उनले कोरोनाका कारण माग ह्वात्तै बढेको बताए ।
महिनामा डेढ करोड सिटामोल उत्पादन गर्दै आइरहेकोमा माग बढेपछि २ करोडभन्दा बढी सिटामोल उत्पादन गरिरहेको उनले बताए ।
नेपाली उत्पादकले सिटामोल नाफामूलक नभई सामाजिक उत्तरदायित्वको भावनाले उत्पादन गरिरहेको जानकारी अध्यक्ष पाण्डेले दिए । महिनाको डेढ करोड उत्पादन गरिरहेकोमा हाल माग बढेपछि उत्पादनलाई थप बढाइएको छ ।
कोरोनाले माग बढाएको भन्दै उनले २०६४ माघ १० गते समायोजन भएको औषधिको मूूल्य अहिलेसम्म्म त्यही मूूल्यमा बेचिरहनुपरेको गुनासो गरे ।
औषधि उत्पादन क्षेत्रमा नयाँ प्रविधि आएका छन्, कर्मचारीको तलब बढेको छ, ढुवानी खर्च बढेको भन्दै उचित समयमा नै गरिनुपर्ने समायोजन नगर्दा व्यवसायीलाई मर्का परेको उनले बताए ।
हाल नेपालमा १२ वटा कम्पनीले सिटामोल उत्पादन गरिरहेका छन् । उनले सिटामोल बनाउने कम्पनीलाई उत्पादन बढाउन आह्वान गरिसकेको बताए । गोरखापत्रमा खबर छ ।