
भारतको सबैभन्दा ठूलो प्रदेश उत्तर प्रदेशको विधानसभा चुनाव नजिकिँदै गर्दा अनेक अनुमान सार्वजनिक भइरहेका छन् । उत्तर प्रदेश चुनावमा भारतीय जनता पार्टी (भाजपा) मुख्यमन्त्री योगी आदित्यनाथ र समाजवादी पार्टी (सपा) अध्यक्ष अखिलेश यादवबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।
चुनावी खिचातानीकै बीच सपाका संस्थापक मुलायम सिंह यादवकी बुहारी अपर्णा यादवले पार्टी परित्याग गरी भाजपा प्रवेश गरेकी छन् । जसले गर्दा सपालाई राजनीतिक रूपमा ठूलो क्षति पुगेको छ ।
टाईम्स नाउ नवभारतको सर्वेमा योगी पुनः मुख्यमन्त्री बन्ने देखिएको छ । उत्तर प्रदेशका ४०३ निर्वाचन क्षेत्रमध्ये भाजपाको पक्षमा २१६–२३३ सीट आउने सर्वेको नतिजा छ, जुन स्पष्ट बहुमत हो ।
प्रतिस्पर्धी मानिएको सपाले १४८–१५९ सीट मात्रै जित्ने सर्वेले देखाएको छ । यस्तै भारतीय कांग्रेसले ९–१५ सीट, बहुजन समाजवादी पार्टी (बसपा) ले ८–१४ सीट जित्ने अनुमान छ । अन्य पार्टीले १–३ सीट जित्ने सर्वेले देखाएको छ ।
चुनावको मुखैमा प्रतिस्पर्धी सपा नेताहरूकी पारिवारिक सदस्य अपर्णा यादवलाई भाजपा प्रवेश गराएर मुख्यमन्त्री योगीले ठूलो राजनीतिक सन्देश दिएका छन् । जसले गर्दा अखिलेश यादवलाई क्षति पुग्ने निश्चित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।