०७ असार २०८३, आइतबार

हत्याकाण्डका दोषी ९ वर्षपछि पक्राउ

हत्याकाण्डका दोषी ९ वर्षपछि पक्राउ
प्रतिकात्मक तस्वीर

हत्यामा संलग्न भई ९ वर्षदेखि फरार रहेका काभ्रेको बेथानचोक गाउँपालिका–४ का ३३ वर्षीय निलबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

९ वर्षअघि साविक चलालगणेशस्थान गाविस–२ का १८ वर्षीय एन्जल तामाङको हत्यामा संलग्न भई निलबहादुर फरार अवस्थामा रहिआएको प्रहरीले जनाएको छ । 

उनलाई भक्तपुरको दूधपाटीमा लुकीछिपी बसेको अवस्थामा शुक्रवार पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

उनका अनुसार २०६९ कात्तिक ८ गते स्थानीय गणेश निम्न माध्यमिक विद्यालयमा सांस्कृतिक कार्यक्रमका क्रममा २ गाउँलेबीच झडप हुँदा प्रतिवादी समेतले धारिलो हतियार प्रहार गरी एन्जलको हत्या गरेका थिए । 

अदालतले २०७४ असार १४ गते प्रतिवादी निलबहादुरलाई २० वर्ष कैद सजाय फैसला सुनाएको थियो । प्रहरीले यसअघि गत मंगलवार एन्जलको हत्यामा संम्लग्न भएका अर्का एक प्रतिवादी बेथानचोक गाउँपालिका–४ का फौदे भनिने २५ वर्षीय पोते तामाङलाई पक्राउ गरेको थियो ।

उनलाई पनि जिल्ला अदालतले सोही दिन २० वर्ष कैद फैसला सुनाएकामा कार्यान्वयनका लागि अदालत पेश गरिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्