
काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–८, इन्द्रावती नदी र सुनकोसी नदीको दोभानस्थित किनारमा आफ्ना लुगा–जुत्ता छाडेर एक जोडी बेपत्ता भएका छन् ।
एक दिनको फरकमा हप्ताअघि घरबाट बेपत्ता भएका विवाहिता उनीहरूको बाहिरी वस्त्र शुक्रवार बिहान दोभानस्थित बगरको ढुंगामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार पनौती नगरपालिका–८ खरिबोटका ४० वर्षीय माधव फुयाँल र नमोबुद्ध नपा–५ को अन्दाजी ३० वर्षीया सिर्जना भण्डारी (कोइराला) दुवैले कालो जेन्ट्स ज्याकेट, गाढा सुन्तला रंगको लेडिज कोट, कालो र खरानी रंगका दुई जोर जुत्ता, कालो लेडिज र जेन्ट्स पर्स, घडीलगायत सामग्री छाडेर बेपत्ता भएका हुन् ।
शुक्रवार बिहान दोभानमा मलामी गएका स्थानीयवासीले पुरुष र महिलाको लुगा देखेपछि दोलालघाट प्रहरीलाई खबर गरेका थिए । शुक्रवार छाडिएका सामग्रीको पहिचान उनीहरूका आफन्तले गरेका छन् ।
परिवारका अनुसार कोइराला गत आइतवारदेखि र फुयाँल सोमवारदेखि घरबाट बेपत्ता थिए । फुयाँलको श्रीमती, एक छोरा र एक छोरी तथा कोइरालाको एक छोरी छ ।
'उनीहरू शंकास्पद तरिकाले लुगा छाडेर बेपत्ता भएकाले हामीले सबै तरिका अपनाएर खोजी गरिरहेका छौँ,' उनले भने । बेपत्ता भएका दुवैको सुनकोसी नदीमा खोजीकार्य भइरहेको र यसमा सघाउन प्रहरीले सर्वसाधारणमा आग्रह पनि गरेको छ ।