
अमेरिकाले युक्रेनलाई उपलब्ध गराएको घातक हतियारको पहिलो जत्था उक्त देश पुगेको छ । रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको भन्दै अमेरिकाका राष्ट्रपति जो बाइडनले घातक हतियार पठाएका हुन् ।
शुक्रवार अबेर राति युक्रेनको राजधानी कीएभमा रहेको अमेरिकी दूतावासले ट्विटरमा एक मालवाहक विमानबाट हरियो रंगको क्रेटहरू झारिएको तस्वीर अप्लोड गरेको थियो ।
उक्त क्रेटहरूमा लगभग १०० टन घातक हतियार रहेको र युक्रेनका अग्रपंक्तिका प्रतिरक्षकहरूलाई दिइने दूतावासले बतायो । रुसको आक्रामकता बढिरहेको बेलामा युक्रेनको प्रतिरक्षालाई थप मजबूत बनाउन यो आपूर्ति गरिएको पनि दूतावासको दाबी छ ।
गत साताको आरम्भमा अमेरिकाले रुसमा बनेका एमआई–१७ ट्रान्सपोर्ट हेलिकप्टर कीएभलाई दिने घोषणा गरेको थियो । मस्कोसँग किनेर अफगान सरकारलाई दिन खोजिएको हेलिकप्टर तालिबानको विजयपछि कीएभलाई दिइएको हो ।
बेलायतले पनि युक्रेन सरकारलाई एन्टी ट्यांक क्षेप्यास्त्रहरू उपहारमा दिएको छ । अनि बाल्टिक राज्यका रक्षामन्त्रीहरूले पनि युक्रेनलाई स्टिंगर एयर डिफेन्स मिसाइलहरू आपूर्ति गर्न अमेरिकाबाट स्वीकृति पाएको बताएका छन् ।
जर्मनीका चान्सलर ओलाफ शोल्जले चाहिँ युक्रेनलाई कुनै पनि घातक हतियार आफ्नो मुलुकले उपलब्ध नगराउने मंगलवार स्पष्ट पारेका छन् ।
रुसले कुनै पनि बेलामा आक्रमण गर्न सक्ने भन्दै त्यसलाई रोक्न विदेशीहरूले युक्रेनलाई हतियार दिइरहेका हुन् । मस्कोले चाहिँ युक्रेनमाथि आक्रमणको योजना बनाएको भन्ने पश्चिमको अनुमान झूटो भएको बताउँदै आएको छ ।
The first shipment of assistance recently directed by President Biden to Ukraine arrived in Ukraine tonight. This shipment includes close to
— U.S. Embassy Kyiv (@USEmbassyKyiv) January 22, 2022
200,000 pounds of lethal aid, including ammunition for the front line defenders of Ukraine. [1/2] pic.twitter.com/YeYanK0Px6