माघ १३, २०८०
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
गुल्मीका १२ स्थानीय तहमध्ये विकट गाउँपालिकाको रूपमा मालिकालाई चिनिन्छ । पालिकाका ७४ प्रतिशतभन्दा बढी महिलाहरू घरमै जोखिमपूर्ण रूपमा सुत्केरी हुन्थे ।
अस्पताल आउनुपर्ने अवस्थामा पुगे ६० किलोमिटर टाढा तम्घास वा १५० किलोमिटर टाढा बुटवलसम्म झर्नुपर्थ्यो ।
अहिले मालिकाका महिलाहरू सुत्केरी गराउन र नियमित गर्भ जाँच गर्न गाउँपालिका बाहिर जानु पर्दैन । अहिले गाउँपालिकाका ८ वटै वडामा निःशुल्क बर्थिङ सेन्टर र सुत्केरी जाँचको सुविधा उपलब्ध छ । २०७८ कात्तिक ७ गते गाउँपालिका ‘शून्य होम डेलिभरी’ घोषणा भयो ।
गाउँपालिकाका अध्यक्ष रीतबहादुर थापाले आफूहरू स्थानीय तहमा आएपछि पालिकाले महिला स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय काम गरेको बताउँछन् । मालिकाले सबै महिलालाई स्वास्थ्य संस्थामा मात्रै सुरक्षित सुत्केरी गराउन २०७५ सालदेखि अभियान चलाएको थियो । गाउँपालिकाले स्वास्थ्य संस्थाप्रति गर्भवतीको आकर्षण बढायो ।
‘गर्भवतीको घरमा हरियो झण्डा, हातहातमा अण्डा कार्यक्रम चलाइयो,’ गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्तराज भुसालले लोकान्तरसँग भने, ‘स्वास्थ्यकर्मीलाई तालिम तथा प्रोत्साहनका साथै स्वास्थ्य संस्थासम्म र स्वास्थ्य संस्थाबाट घरसम्म जानका लागि ८ वटै वडामा निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेका छौं, जसले गर्दा गाउँपालिकामा मातृ र शिशु मृत्युदर धेरै घटेको छ ।’ २ वर्षयता गाउँपालिकाका कुनै पनि महिला घरमा सुत्केरी नभएका भुसालले दाबी गरे ।
आर्थिक वर्ष २०७७/०७८ मा गाउँपालिकाले सञ्चालन गरेका बर्थिङ सेन्टरमा २४२ जना बच्चा र अन्य संस्थागत अस्पतालमा ९० गरी ३३२ बच्चा गाउँपालिकामा जन्मिएका पालिकाको तथ्यांकमा उल्लेख छ ।
मालिकाले थालेको अभियानबाट अन्य गाम्रीण क्षेत्र भएका स्थानीय तहले पनि वडाहरूका स्वास्थ्य चौकीहरूलाई बर्थिङ सेन्टरको रूपमा विकास गरेका छन् । ४ वर्षको प्रयासबाट शून्य होम डेलिभरी गराउन सफल भएको अध्यक्ष थापा बताउँछन् ।
... ...
७५३ स्थानीय तहमध्ये आफूलाई अब्बल दाबी गर्दै आएको रूपन्देहीको तिलोत्तमा नगरपालिका मुलुककै पहिलो पूर्ण सरसफाईउन्मुख नगरपालिका हो । २०७६ चैत ३० गते तिलोत्तमालाई मुलुकको पहिलो पूर्ण सरसफाईउन्मुख र खूला शून्य पोलिथिन नगरपालिका घोषणा गरिएसँगै त्यसलाई दीगो बनाउन स्थानीय पाठ्यक्रममा ‘माई पकेटः माई फर्स्ट डस्टबिन’ समावेश गरिएको छ ।
नगर प्रमुख बासुदेव घिमिरे लोकान्तरसँग भन्छन्, ‘एउटाले फोहोर गर्दै जाने अर्कोले उठाउँदै जाने प्रवृत्तिले नगर सफा हुन नसक्ने भएकाले आफ्नो फोहोर आफैं व्यवस्थापन गर्ने बानीको विकासका लागि विद्यार्थीलाई यसबारे सिकाउन थालिएको छ । अहिलेका विद्यार्थीहरू परिपक्व हुँदा सार्वजनिक ठाउँ, सडकमा हुने फोहोरमा स्वतः कमी आउने अपेक्षा गरेका छौं ।’
पालिकाले त्यसलाई दीगो राख्न र नगरबासीमा सोच परिवर्तन गराउन विभिन्न अभियान चलाउँदै आएको छ । २०७६ सालमा तिलोत्तमामा अभियानकै रूपमा खुला शून्य पोलिथिन अभियान चलाइएको थियो । जनप्रतिनिधि आएसँगै हरेक महिनाको १ र १५ गते नियमित रूपमा सरसफाई चल्दै आएको छ ।
तिलोत्तमाको ‘सिक्सलेन’ सडक चिटिक्क राखिएको छ । बुटवल–भैरहवाको बीचमा पर्ने तिलोत्तमाले सिक्सलेनमा राखेका सडकबत्ती, ग्रीनरी र सरसफाईले सबैको मन लोभ्याउने गरेको छ ।
स्थानीय पालिकाहरू तिलोत्तमाको असल अभ्यासलाई पछ्याइरहेका छन् । सडकको बीच डिभाइडरमा बुद्धका मूर्ति समेत राखिएका छन् ।
तिलोत्तमाले सफाईलाई महत्त्व दिँदै १७ वडामै फोहोर संकलन र व्यवस्थापनको काम गरिरहेको छ । २०७१ सालमा स्थापना भएको नयाँ नगरपालिकाले सरसफाईमा देखाएको तत्परता अरुका लागि सिकाइ भएको छ ।
शुरूबाटै फरक काम गरेर पहिचान बनाएको तिलोत्तमाको अनुभव लिन २ दर्जन बढी पालिकाबाट भ्रमणमा आइसकेका छन् ।
... ...
गुल्मीको धुर्कोट गाउँपालिका खरको छानामुक्त स्थानीय तह बनेको छ । गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेल खरका छानामुक्त अभियानको पहिलो निर्णय र अभियान पूरा गर्ने देशभरका स्थानीय तहमा धुर्कोट पहिलो भएको दाबी गर्छन् ।
पालिकाका ५०४ वटा खरका छाना विस्थापित गरी जस्तापाताले छाइएको छ । यसका लागि १ करोड ८१ लाख ९२ हजार २८७ रुपैयाँ खर्च गरियो ।
गाउँपालिकाले पूर्वाधार विकासका काम पनि अगाडि बढाएपछि बसाइँसराइँ गरी बुटवल तथा आसपासको क्षेत्रमा झरेकाहरू पनि उद्यम गर्ने सोचसहित धुर्कोट फर्किन थालेका छन् । गाउँ फर्किनेहरूका लागि गाउँपालिकाले विभिन्न योजना पनि अगाडि सारेको छ ।
... ...
दाङको घोराही उपमहानगरपालिका उपत्यका भए पनि पानी संकट गहिरिँदै थियो । चापाकलबाट पानी निकाल्न धेरै गाहिराइमा पुग्दा समेत हम्मेहम्मे हुन थाल्यो । तीव्र शहरीकरणले नगर भित्रका शहरउन्मुख गाउँका कुँवा, इनार, ट्युबवेल, जरूवा जस्ता पानीका स्रोतहरू सुक्दै गए । पशुचौपाया, वन्यजन्तु, चराचुरुङ्गीको बासस्थान सुरक्षित गर्न र सिँचाइका लागि आवश्यक पानीको आपूर्तिमा समस्या बढ्दै गयो ।
जनप्रतिनिधि आएपछि घोराहीमा पानीको स्रोत संरक्षण गर्दै कृषकको आम्दानी बढाउन कृत्रिम जलाशय निर्माण अगाडि बढाइयो । नगरलाई सुक्खा हुनबाट बचाउन जलाशय निर्माण अभियान अहिले प्रभावकारी बनेको छ ।
घोराहीमा झण्डै २ दर्जनभन्दा बढी कृत्रिम ठूला जलाशय निर्माण गरी जमिनमा पानीको रिचार्ज गर्ने कामको शुरूवात गरिएको छ । यो कामको लागि नगरपालिकाले झण्डै १० करोड रूपैयाँ खर्च गरिसकेको छ ।
नगर प्रमुख नरूलाल चौधरीले नगरमा पानीका स्रोत बचाउन पानी संकलन केन्द्रमार्फत ‘रिचार्ज’को काम गरिएको बताए ।
‘नगरमा जनघनत्व बढ्दै जाँदा शहरी क्षेत्र बढ्यो । जसले गर्दा पानीका मुहानहरू सुक्दै गए । पानीको अभाव बढ्न थाल्यो । घोराही क्षेत्रको भविष्य अन्योलमा नपरोस् भनेर कृत्रिम जलाशय निर्माणमा लागेका हौं,’ उनले भने, ‘यी पोखरीमा वर्षायामको पानी जम्मा गरिन्छ । पोखरीमा केही जोखिम भए पनि पर्यावरणीय र वातावरणका क्षेत्रमा ठूलो काम भएको छ ।’
शहरीकरणले पानीका स्रोत भासिँदै गएका छन् । ‘चुरे क्षेत्रमा तीव्र कटान र ढलानले स्रोत सुकेपछि पानी रिचार्ज हुन पाएन,’ चौधरीले भने, ‘जसले गर्दा दाङ उपत्यका नै सुक्खा हुँदै गयो । सुक्खा बढ्दा भूमिगत स्रोतको पनि सतह घटेको थियो । पोखरी निर्माणले कृषिसँगै जमिन र पारिस्थितिक प्रणालीमा पनि सन्तुलन ल्याउने अपेक्षासहित हामीले काम गरेका हौं ।’
... ...
रूपन्देहीको बुटवल उपमहानगरपालिकाले खेतीयोग्य जमिनमा व्यावसायिक तरकारी खेती गर्नका लागि जग्गा भाडामा लिनेलाई अनुदान, किसानलाई अनुदान र उपकरण प्रदान गर्नुका साथै किसानले उत्पादन गरेका फसलका आधारमा पुनः अनुदान दिने व्यवस्था गरेको छ । फसल धितो राखेर अनुदान लिने किसानको संख्या झण्डै ५०० पुगेको छ ।
भूमि बैंक र श्रम बैंक समेत स्थापना गर्दै खेती गर्ने मन भएका तर जमिन नभएकालाई लक्षित गरेर जग्गाको भाडा तिरिदिने, उपकरण प्रदान गर्ने र बीउ बिजनमा समेत अनुदान दिँदै आएको नगर प्रमुख शिवराज सुवेदीले बताए । जमिन नभएका र शहरी क्षेत्रमा बस्नेहरूका लागि घरको छत तथा कौसीमै तरकारी र फलफूल खेती गर्न सकिने गरी तालिम र उपकरण प्रदान गरिएको छ ।
कृषि उद्यमी बन्न चाहनेलाई नर्सरी खेतीको तालिम, आवश्यक उपकरण समेत उपलव्ध गराइएको छ । धान, मकै, गहुँ र तरकारीको पकेट क्षेत्र निर्धारण गरेर उन्नत बीउ समेत जोहो गर्ने गरी कार्यक्रम सञ्चालन गरिएको छ ।
किसानका अलग–अलग समूह समेत गठन गरेर उत्पादकत्व वृद्धिका तरिका सिकाउने, उन्नत बीउको छनौट गर्न सिकाउने र आफैंले पनि बीउ उत्पादन गरी बिक्रीवितरण गर्न समेत सिकाइँदै आएको छ । किसान लक्षित प्रोत्साहन कार्यक्रम समेत प्रभावकारी बनेका छन् ।
किसानलाई प्रोत्साहन, हौसला र उपभोक्तालाई स्वस्थकर उत्पादन उपलब्ध गराउने गरी बुटवल उपमहानगरले शुरू गरेको ‘शहरी कृषि प्रबद्र्धन कार्यक्रम’ मुलुककै नमूना मानिन्छ । किसानलाई जैविक मल उत्पादन र त्यसको प्रयोगको विधि सिकाउनुका साथै आवश्यक उपकरण समेत उपलब्ध गराइएको छ ।
किसानले आफैं नर्सरी सञ्चालन गर्ने, तरकारीलाई व्यावसायिक रूपमा उत्पादन गर्ने र आफू समेत आवद्ध रहेको सहकारीमार्फत बिक्री वितरणका लागि बजारमा पठाउने गर्दै आएका छन् । किसानका उत्पादन खेर जाने बाध्यता र मूल्य नपाउने समस्या बुटवलमा छैन ।
बुटवलमा कृषि विकास र पशुपन्छी विकास शाखा, शहरी शाखा लगायतमार्फत शहरी कृषि प्रबद्र्धन गरिँदै आएको छ ।
... ...
गत वर्षदेखि कपिलवस्तुको विजयनगर गाउँपालिकाले भैंसी स्रोत केन्द्र कार्यक्रम लागू गर्यो । कार्यक्रममा नश्ल सुधार, गोठ सुधार, पशु आहारा लगायतका काम हुँदै अहिले गाउँ दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । विजयनगर जिल्लाको दुर्गम गाउँपालिकामा पर्छ । ३ करोड ८ लाख रुपैयाँ लागतको कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष गोपाल थापाले बताए ।
कार्यक्रममा व्यावसायिक किसानदेखि सबै पालिकावासीलाई जोडिने थापाले बताए । गाउँपालिकाले छोरी जन्मिए १५ हजार रुपैयाँ दिने गरेको छ ।
... ...
रूपन्देहीका ओमसतिया र गौडहवा गाउँपालिकाले बालविवाह रोक्न बालिका बिमा कार्यक्रम सञ्चालन गरे । छोरी जन्मिएपछि २० हजार रुपैयाँ खातामा राखिदिने कार्यक्रम लागू गरे ।
संघीय शासन प्रणालीले पालिकालाई सेवा प्रवाहको केन्द्र मानेको छ । पहिले सदरमुकामबाट हुने काम अहिले पालिका केन्द्रबाट हुन थालेका छन् । पालिका केन्द्रमा सबै काम हुन थालेपछि पालिका केन्द्र तोकिएको ठाउँमा ग्रामीण शहरीकरण तीव्र भइरहेको छ ।
गाउँमा सबै सेवा प्रवाह हुन थालेपछि बसाइसराई घट्दै गएको छ भने गाउँ छाडेकाहरू फर्किन थालेका छन् । पालिकाका जनप्रतिनिधिको कार्यकाल आउँदो जेठमा सकिँदैछ ।
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...