
पश्चिमी सैन्य गठबन्धन नेटोले पूर्वी युरोपमा थप सैनिक, जहाज र लडाकू विमानहरू पठाउने नेटोको वेबसाइटमा सोमवार जानकारी दिइएको छ ।
रुसले युक्रेन नजिक सैन्य तैनाथी बढाइरहेपछि नेटोले सुरक्षा बढाएको बताएको छ ।
विगत केही दिनयता नेटो साझेदारहरूले हाल विद्यमान तथा आगामी तैनाथीका विषयमा घोषणा गरेको जानकारी पनि नेटोले दिएको छ ।
डेनमार्कले बाल्टिक समुद्रमा फ्रिगेट जहाज पठाएको छ अनि चारवटा एफ–१६ लडाकू विमान लिथुएनियामा पठाएको छ ।
स्पेनले नेटोका जलसैन्य बलहरूसँग मिसिनका लागि जहाजहरू पठाएको र बुल्गेरियामा लडाकू विमान पठाउने विषयमा विचार गरिरहेको छ ।
नेदरल्यान्ड्सले पनि बुल्गेरियामा दुईवटा एफ–३५ लडाकू विमान पठाउने भएको छ ।
अमेरिकाले पनि पूर्वी युरोपमा सैनिक तैनाथ गर्ने विषयमा विचार गरिरहेको छ ।