
घोराही कारागारबाट गत पुस ८ गते प्रहरीको मोटरसाइकल लिएर भागेका कैदी बाँकेको जमुनाह नाकाबाट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका दाङ राजपुर गाउँपालिका-३ का २९ वर्षीय यमराज परियारलाई पक्राउ गरिएको हो ।
भारतीय प्रहरीसँगको समन्वयमा खोजी गर्ने क्रममा नेपालगञ्जस्थित जमुनाहा नाकाबाट उनलाई पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ ।
परियार कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजायका व्यक्ति हुन् । उनले ७ वर्ष कैद भुक्तान गरेर पहिले सोही कारागारमा चाैकीदार र हाल नाइके भएर काम गर्दै आएका थिए ।
परियार पुस ८ गते बिहान ११ बजे छालासम्बन्धी रोगको उपचार गर्न जाने भन्दै घोराही बजारको बीपीचोकस्थित थकाली लजमा खाना खाँदै गर्दा प्रहरी जवानको मोटरसाइकल लिएर फरार भएको प्रहरीको भनाइ छ ।
कानूनी प्रावधानअनुसार कैद भुक्तान नगरी कैदी फरार भएमा उनलाई बाँकी कैदको डेढी बढाएर कैद सजाय हुने व्यवस्था छ । कारागार ऐन २०१९ को दफा २४ को ३ मा कैद म्याद तोकिएका कैदी भागेमा प्रक्रिएपछि उनलाई बाँकी कैदको डेढी बढाई कैद सजायको व्यवस्था गरिएको छ ।