
नेपाली कांग्रेसको शेखर कोइराला समूहले आगामी वैशाखमै स्थानीय तहको निर्वाचन हुनुपर्ने निष्कर्ष निकालेको छ । आगामी निर्वाचनको सन्दर्भमा आफ्नो समूहको साझा धारणा बनाउनका लागि डा. कोइरालाले सोमबार आफू निकट नेताहरुसँग भर्चुअल संवाद गरेका हुन् ।
उक्त संवादमा उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा, नेताहरु, अर्जुन नरसिंह केसी, डा. चन्द्र भण्डारी, डा. मिनेन्द्र रिजाल, बलबहादुर केसी, डा. रामशरण महत लगायतका नेताहरू सहभागी भएका थिए ।
निर्वाचनको सम्बन्धमा गठबन्धनका नेताहरुले विभिन्न धारणा बाहिर ल्याएको तर, काँग्रेसले निर्वाचनको सम्बन्धमा आधिकारिक धारणा बनाउन नसकेको उनीहरूले औँल्याएका थिए ।
संविधान र निर्वाचन कानूनमा भएको व्यवस्था कार्यान्वयन गराउन आगामी वैशाखमै स्थानीय तहको निर्वाचन हुनुपर्ने र त्यसलाई विभिन्न बाहनामा सार्ने प्रयास भएमा मान्य नहुने निष्कर्ष निकालिएको संवादमा सहभागी एक नेता बलबहादुर केसीले बताए ।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनमा लतारिएको र त्यसले कांग्रेसलाई बेफाइदा हुने कुरा पनि छलफलको क्रममा आएको नेताहरुले बताएका छन् । कतिपय निकटस्थ नेताहरू राष्ट्रिय सभाको निर्वाचनको लागि काठमाडौं बाहिर रहेको र उनीहरू काठमाडौं फर्किएपछि थप छलफल गरेर आफ्नो समूहको धारणा बनाउने पनि नेता केसीको भनाइ छ । त्यसपछि पार्टी सभापतिसँग पनि छलफल गर्ने निष्कर्ष निकालिएको केसीले बताए ।
त्यसबाहेक, सभापति देउवाले पार्टीमा एकलौटी गर्न खोजेको भन्दै त्यसमा असन्तुष्टि पनि नेताहरुले व्यक्त गरेको संवादमा सहभागी अर्का एक नेताले बताए । पार्टी सभापतिले राष्ट्रिय मुद्दामा पार्टीमा छलफल गर्न नचाहेको र केही सीमित मान्छेको भरमा परेको नेताहरुले छलफलमा बताएका थिए ।
सरकारको कामको बारेमा समेत पार्टीमा छलफल नगरेको भन्दै देउवासँग गम्भीर रूपमा छलफल गर्नुपर्ने पनि नेताहरुले बताएका थिए ।