
सुदूरपश्चिम प्रदेशका चार जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।
कञ्चनपुरको त्रिनगर भन्सार नाका हुँदै प्रवेश गरेका उनीहरुमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको सामाजिक विकास मन्त्रालय धनगढीले जनाएको छ ।
मन्त्रालयले मंगलवार जारी गरेको विज्ञप्तिअनुसार बझाङको बिथडचिर गाउँपालिका-२ का ३३ वर्षीय पुरुष, डोटीको पूर्वीचोकी गाउँपालिका-७ का ४८ वर्षीय पुरुष, कञ्चनपुरको पुनर्वास नगरपालिका-२ का २९ वर्षीय पुरुष र कञ्चनपुरकै दोधाराचाँदनी नगरपालिका-२ का ४२ वर्षीय पुरुषमा ओमिक्रोन पुष्टि भएको हो ।
भारतबाट नेपाल फर्केका उनीहरुमा एन्टिजेनबाट परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो । नयाँ भेरियन्ट पहिचानको लागि पुस २५ गते १४६ जनाको नमूना जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाइएको थियो । जसमध्ये ४ जनामा ओमिक्रोन पुष्टि भएको मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।
ओमिक्रोन देखिएकाहरू हाल सम्पर्क बाहिर रहेको पाइएको छ । मन्त्रालयका प्रवक्ता कार्कीले आफूहरूको सम्पर्क बाहिर रहेकोले सम्बन्धित जिल्ला तथा पालिकासँगको समन्वयमा तत्काल सम्पर्कमा ल्याइने र कन्ट्याक्ट ट्रेसिङ गरिने बताए ।
