२२ जेठ २०८३, शुक्रबार

टीयूका सबै विषयका परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न शिक्षामन्त्री पौडेलको निर्देशन

टीयूका सबै विषयका परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न शिक्षामन्त्री पौडेलको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बाँकी रहेका सबै विषयका परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएका छन् ।

त्रिभुवन विश्वविद्यालयले लिएको परीक्षाको नतिजा प्रकाशित गर्न ढिलाइ भइरहेको गुनासो आइरहेका बेला मन्त्री पौडेलले बाँकी रहेका सबै परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारीलाई निर्देशन दिए ।

मंगलवार बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयको अनुगमन गर्न पुगेका उनले विद्यार्थीले चाहेको बेलामा नतिजा प्रकाशित गर्ने व्यवस्था अपनाउन पनि त्यहाँका पदाधिकारीलाई सचेत गराए ।

मन्त्री पौडेलले परीक्षा नियन्त्रण कार्यालयको प्रणालीमा सुधार गर्न आफू तयार रहेको तर जनशक्तिकै अभाव देखाएर परीक्षाको नतिजा प्रकाशित गर्ने काममा ढिलाइ गर्न नहुने स्पष्ट पारे । ‘फास्ट ट्रयाक’को विधि अपनाएर भए पनि परीक्षाको नतिजा प्रकाशित गर्न त्रिभुवन विश्वविद्यालयले ढिलाइ गर्न नहुने उनको भनाई थियो ।

मन्त्री पौडेलले भने, ‘जेसुकै तर्क गरे पनि रिजल्ट ढिलो भएको कुरा प्रमाणित छ । कोसिस गरेको कुरा काम गर्ने जनशक्ति कम भएको हुँदाखेरी काममा ढिलाइ भएको यहाँका कर्मचारीहरूले राख्नुभएको छ तर सेवाग्राहीले समयमा सेवा प्राप्त गर्नुपर्नेमा रिजल्ट ढिला भएको छ । जे स्थिति छ । मौजुदा अवस्थाबाट रिजल्ट छिटो निकाल्ने फास्ट ट्रयाकको तरिका अपनाउनुस् भनिएको छ । यसलाई सुधार्ने प्रसंगमा अर्को प्रणाली अपनाउँला तर अहिले नै भएको जनशक्तिबाट छिटोभन्दा छिटो रिजल्ट निकाल्ने काम अघि बढाउनुस् भनेका छौं । केही विषयको रिजल्ट निस्केको पनि छ । केही विषयमा निस्कन बाँकी रहेको छ । कन्ट्रोलर सर पनि यहाँसँगै हुनुहुन्छ । विद्यार्थीको गुनासो अनुसार कर्मचारी पुगेन, सिस्टम पुगेन भन्ने कुराले मिल्दैन । उसले चाहेको बेलामा रिजल्ट दिन सक्नुपर्छ विश्वविद्यालयले । त्यो व्यवस्था गर्नुस् भनेको छु ।’

यता, परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनशक्ति अभावका कारण परीक्षाको नतिजा प्रकाशित गर्न ढिलाइ भएको जवाफ मन्त्री पौडेललाई दिएका थिए । उनले जनशक्तिको अभाव र विश्वविद्यालय अन्तर्गतको विद्यार्थीको संख्या बढी भएकाले परीक्षाको नतिजा प्रकशित गर्ने काममा ढिलाइ हुन गएको कुरा आफूले मन्त्री पौडेललाई जानकारी गराएको बताए ।

मन्त्री पौडेलले परीक्षा नियन्त्रण कार्यालयका सबै शाखाको अनुगमन गरी त्यहाँका कर्मचारीको गुनासो सुनेका थिए । त्रिभुवन विश्वविद्यालयको परीक्षाबारे धेरै गुनासो बाहिर आएपछि आफू अनुगमनमा आएको मन्त्री पौडेलले बताए ।

उनले विश्वविद्यालयको समग्र पुनःसंरचना गरेर अघि बढ्नुपर्ने योजना सुनाउँदै त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग छिट्टै परामर्श गरेर अघि बढ्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्