
रूपन्देहीको देवदहस्थित घोडाहा जंगलमा मंगलवार दिउँसो शव भटिएका महिला र बालिकाको हत्या भएको प्रहरीले जनाएको छ । उनीहरू दुवै जनाको घाँटी रेटिएको छ ।
ईलाका प्रहरी कार्यालय बुटवलमा डीएसपी ठगबहादुर केसीले दुवैको शव घाँटी रेटिएको अवस्थामा भेटिएकाले हत्या भएको निष्कर्षमा प्रहरी पुगेको लोकान्तरलाई बताए ।
देवदह नगरपालिका–९ घोडाहास्थित पूर्वपश्चिम राजमार्गबाट २५ मिटरभित्र जंगलमा धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको छ । हत्या गरिएका महिला र बालिकाको सनाखत हुन सकेको छैन ।
महिला अन्दाजी ३० वर्षमाथि र बालिका ७ वर्षजतिको रहेका प्रहरीले अनुमान गरेको छ ।
शव भेटिएको स्थानमा अन्य कुनै सामानहरू भेटिएका छैन । झोला वा अन्य कागजपत्र नहुँदा शवको पहिचान गर्न नसकिएको प्रहरीले जनाएको छ ।

हत्या गरेर जंगलमा शव फालिएकाले घटना शंकास्पद रहेको छ । १०–१२ घण्टा अघिको आसपासमा हत्या गरेर फालिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी मनोजकुमार केसीले बताए ।
मंगलवार बिहान ११ बजेतिर स्थानीयले झाडीमा महिला र बच्चा मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । महिला र बालिका तराई मूलका जस्तो देखिन्छन् । उनीहरू आमाछोरी हुनसक्ने प्रहरीले जनाएको छ ।
पछिल्लो समय रुपन्देहीको देवहवमा आपराधिक घटना बढ्न थालेका छन् ।