३० जेठ २०८३, शनिबार

श्रीमतीको शव घरभित्रै गाडेर फरार भएपछि...

माघ ११, २०७८
श्रीमतीको शव घरभित्रै गाडेर फरार भएपछि...

धनकुटामा एक व्यक्तिले श्रीमतीको हत्या गरी आफ्नै घरभित्र गाडेको अवस्थामा शव भेटिएको छ ।

धनकुटा नगरपालिका– ४ छारा गाउँका ५२ वर्षीय सीताकुमार श्रेष्ठले मादकपदार्थको तालमा श्रीमती सीताको हत्या गरी घरभित्रै शव गाडेको पाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीले बताए । 

‘उनले आपसी झगडामा धकेलाधकेल हुँदा कान्लाबाट तल खसेर मृत्यु भएको बताएका छन्,’ डीएसपी कार्कीले लोकान्तरसँग भने । 

श्रीमान् श्रीमतीले नै मादकपदार्थ सेवन गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

प्रहरीले सीताकुमारलाई भक्तपुरको बोडेबाट पक्राउ गरेर धनकुटा लगेपछि उनले श्रीमतीको शव गाडिएको ठाउँ देखाएका थिए ।

प्रहरीका अनुसार कहिले श्रीमान्ले मादकपदार्थ सेवन गरेर झगडा गर्ने त कहिले श्रीमतीले मादकपदार्थ सेवन गरेर झगडा गर्ने गर्थे ।

झगडा गरेपछि उनीहरू घर छाडेर हिँड्ने गरेको छिमेकीले प्रहरीलाई बताएका छन् ।

झगडा गरिरहने र मादक पदार्थ अत्यधिक सेवन गर्ने भएकाले छिमेकीहरूले उनीहरू कतै जाँदा सोधखोज समेत गर्ने गरेका थिएनन् ।

लामोसमय दुवैजना हराएपछि आफन्त अरुण श्रेष्ठले सीताको खोजी गरिदिन भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

दुवैजना सम्पर्कविहीन रहेकाले उनीहरू कतै भागे कि भनेर पनि खोजी भएको थियो ।

खोजतलासका क्रममा सीताकुमारलाई भक्तपुरमा भेटिएपछि घटनाको रहस्योद्घाटन भएको हो ।

सीताकुमारले प्रहरीलाई दिएको बयानअनुसार घटना पुस १६ गतेको हो ।

आफू बाहिरबाट आउँदा श्रीमतीले मादक पदार्थ सेवन गरेर झगडा गरेको उनले बताएका छन् ।

‘म आउनेबित्तिकै गालीगलौज गर्न थालेपछि भनाभन भयो । मैले एक झापड हान्दा ऊ कान्लाबाट तल खसी,’ सीताकुमारले प्रहरीसँग भनेका छन् ।

तल खसेपछि अर्धचेत अवस्थामा घरमा ल्याई शिरक ओढाएर आफू सुतेको बयान उनले प्रहरीलाई  दिएका छन् ।

‘तलबाट माथि ल्याउँदा अलिअलि चिसो भएकी थिई । जाडो भयो होला भनेर शिरक ओढाएर म सुतेँ । भोलिपल्ट बोलाउँदा नउठेपछि हेर्दा मृत्यु भइसकेको रहेछ । त्यसपछि घरको भुइँतल्लामा गाडेको हुँ,’ प्रहरीसँगको बयानमा सीताकुमारले भनेका छन् ।

त्यसपछि उनी भागेर भक्तपुर आएका थिए । प्रहरीले उनको घरभित्र खन्दा २ फिट तल शव भेटियो ।

‘झण्डै २ फिट तल खाल्डोमा पुरेको अवस्थामा शव थियो,’ कार्कीले लोकान्तरसँग भने, ‘शव माटोभित्र भएकाले सड्न थालेको अवस्थामा थियो ।’

शुरूमा तालिमप्राप्त कुकुरले पनि भेट्न नसकेको शव सीताकुमारले नै देखाएका थिए ।

प्रहरीका अनुसार उनले शव गाडेर त्यसमाथि गिट्टी राखेका थिए । गिट्टीभन्दा माथि खाट (पलङ) राखेर शव लुकाउन खोजेको देखिएको छ ।

प्रहरीले शव पोस्टमार्टमका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ । 

उनीहरूका १३ वर्षीय छोरा समेत रहे पनि छोराले केही थाहा नपाएको पाइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्