
निर्वाचन आयोगले स्थानीय तह चुनावको मिति घोषणा गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजानका लागि गृह मन्त्रालयमा पेश गरेको छ ।
निर्वाचन आयोगले पठाएको स्थानीय तह निर्वाचन मिति घोषणा गर्ने प्रस्ताव गृहमन्त्रीमार्फत् मन्त्रिपरिषद्मा पेश हुन्छ ।
मन्त्रिपरिषद्ले प्रस्तावमा छलफल गरी निर्वाचनको मिति घोषणा गर्छ ।
निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच मंगलवार भएको भेटपछि आयोगले तत्कालै प्रस्ताव गृह मन्त्रालयमा पुर्याएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।
आयोगका पदाधिकारी र प्रधानमन्त्रीबीच आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्नेबारे छलफल भएको थियो । जेठ ४ गते स्थानीय तहको निर्वाचनको मिति तोक्न प्रधानमन्त्री तयार भएपछि आयोगले तत्कालै प्रस्ताव पठाएको हो ।
मंगलवारको भेटमा सरकारले चाँडै निर्वाचनको मिति घोषणा गर्ने भएकाले निर्वाचन सम्बन्धी कामको तयारी थाल्न प्रधानमन्त्री देउवाले निर्वाचन आयोगका पदाधिकारीलाई निर्देशन दिएका थिए ।
बिहीवार बस्ने मन्त्रिपरिषद् बैठकले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्नसक्ने अपेक्षा गरिएको छ ।
००० ०००
गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बुधवार केन्द्रीय सुरक्षा समितिको बैठक गृह मन्त्रालयमा बसेको छ ।
बैठकमा आगामी जेठ ४ गतेका लागि प्रस्ताव भएको स्थानीय तह निर्वाचनमा सुरक्षा व्यवस्थापन र वर्तमान सुरक्षा अवस्थाबारे छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
बैठकमा नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेलले निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक पर्ने सुरक्षाका सामाग्री र सुरक्षा व्यवस्थाबारे धारणा राखेका थिए ।
गृहमन्त्री खाँण, गृहसचिव टेकनारायण पाण्डे, रक्षा सचिव किरणप्रसाद शर्माले स्थानीय तह निर्वाचनबारे तयारी अवस्थामा रहन निर्देशन दिए ।
करीब २ घण्टा चलेको बैठकमा स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्था केन्द्रित छलफल भएको थियो ।
स्थानीय तह र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धनका दल मिल्छौँ : माधव नेपाल
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ महिनामा हुने स्थानीय तहको चुनावमा गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । तालमेल नभएको अवस्थामा पनि आफूहरूको अवस्था काँप्नु पर्ने नरहेको उनले दाबी गरे ।
पार्टी निकट अखिलले बुधवार काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रममा नेता नेपालले मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि गठबन्धन दल मिलेर जाने दाबी गरेका हुन् ।
जेठमा स्थानीय तहको चुनाव मिति घोषणा गर्ने सरकारको तयारी छ ।
‘जेठ महिनामा स्थानीय चुनाव हुन गइरहेको छ, गठबन्धनका दल मिलेर अगाडि बढ्ने छन् । यसका लागि छलफल चलाइराखेका छौं,’ नेता नेपालले भने, ‘राष्ट्रिय सभा निर्वाचनदेखि विजयको यो यात्रा जारी छ । मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा पनि नयाँ परिणाम हासिल गर्नेछ । देश गठबन्धनको राजनीतिमा अगाडि बढ्ने छ ।’
नेता नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको नामै नलिई गठबन्धन तोड्न गरेको प्रयत्न सफल नहुने बताए । ‘कसैले चाहना राखेको होला, गठबन्धन तोड्नुस् साथ दिन्छु भनेका होलान् । अनेक कोशिश गरेका गलत मनसाय सफल हुन दिदैनौँ,’ बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटपछिको कार्यक्रममा नेता नेपालले भने ।
नेता नेपालले अहिलेको वाम लोकतान्त्रिक र प्रगतिशील गठबन्धनको तरंगले दक्षिणपन्थी शक्ति आत्तिएको दाबी गरे ।
बिहीवार निर्वाचनको मिति घोषणा नभए देशभर आन्दोलन गर्ने एमालेको निर्णय
सरकारले स्थानीय तहको निर्वाचन मिति नतोके देशभर दबाबमूलक कार्यक्रम गर्ने निर्णय एमालेले गरेको छ ।
बुधवार बसेको भक्तपुरमा बसेको केन्द्रीय सचिवालय बैठकले बिहीवार मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति नतोके देशभर दबाबमूलक कार्यक्रम आयोजना गर्ने एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।
त्यसैगरी एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश–१ र सुदूरपश्चिममा भएको अनुशासन उल्लंघन र अन्तर्घातको छानबिन र कारवाहीका लागि सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।
सचिवालय बैठकले एमालेको नियमावली, जन संगठनको निर्देशिका पारित गर्नुका साथै सहकारी र स्थानीय निकाय विभागमा सदस्य थप्ने निर्णय गरेको नेता गुरुङले बैठकपछि जानकारी दिए ।
एमालेले पार्टी सदस्यतासम्बन्धी केन्द्रमा अभिलेख राख्न प्रत्येक जिल्लामा आइटी विज्ञ नियुक्त गर्ने निर्णय पनि गरेको छ ।
चैत महिनाभित्र पार्टी सदस्यता वितरण र नवीकरण गरिसक्ने निर्णय गरेको गुरूङले जानकारी दिए ।
जेठ ४ गते नै स्थानीय तहको चुनाव हुनुपर्छ : ओली
विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन नेकपा एमाले सचिवालयको बैठक भक्तपुरमा शुरू भएको छ ।
भक्तपुरको बालकोटस्थित एक पार्टी प्यालेसमा बुधवार सचिवालय बैठक बसेको हो । स्थानीय तह निर्वाचनमा पार्टीको रणनीति बनाउन बैठक बसेको हो ।
बैठकमा पार्टीको जनसंगठन सञ्चालन निर्देशिका बनाउनेलगायतका एजेण्डा छन् ।
बैठक उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले प्रस्ताव गरेको जेठ ४ गते नै स्थानीय तहको चुनाव हुनुपर्ने बताए ।
निर्वाचन आयोगले मंगलवार सरकारसँग जेठ ४ गते चुनाव गर्ने प्रस्ताव गरेको थियो । अध्यक्ष ओलीले वर्तमान गठबन्धनले अनेक बहानामा चुनाव टार्न खोजेको आरोप लगाएका छन् ।
सचिवालयमा एमाले अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवहरू सहभागी छन् । १९ जना पदाधिकारीलाई समावेश गरेर एमालेले सचिवालय बनाएको छ ।
स्थानीय तहको चुनाव मिति घोषणा गर्न दबाब दिँदै एमालेका भातृ संगठन युवा संघ र अनेरास्ववियुले बहस चलाएका छन् ।
स्थानीय चुनाव गर्ने मिति घोषणाका लागि दबाब दिँदै अनेरास्ववियु
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु १ नम्बर प्रदेश कमिटीले स्थानीय तह निर्वाचनको माग गर्दै विराटनगरमा बुधवार सडक बहस गरेको छ ।
कार्यक्रममा १ नम्बर प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यले सरकारले संविधानको बर्खिलाप हुने गरी निर्णय गर्न नसक्ने बताए ।
संविधानले १ दिन पनि जनप्रतिनिधिविहीन स्थानीय तहको परिकल्पना नगरेको उनले बताए । सरकारको भजन गाउने कानून व्यवसायीलाई बोलाएर संविधानको छिद्र खोज्ने काम गरिरहेको आरोप उनले लगाए ।
अर्थशास्त्री प्रा.डा. अर्जुन बरालले संविधानको व्यवस्थाअनुसार तत्काल निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् । उनले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन नहुनेमा जोड दिए ।
देशमा आर्थिक अवस्था कमजोर भइरहेको समयमा भ्रष्टाचार बढ्दो अवस्थामा रहेको उनले बताए । सरकार भ्रष्टाचार रोक्न उदासिन देखिएको उनको आरोप छ ।
डा. बरालले १ नम्बर प्रदेश सरकारले आर्थिक भार पर्ने गरी मन्त्रालय थप गर्ने कार्य शुरू गर्नु गलत भएको बताए ।
मानव अधिकारकर्मी सोमराज थापाले समयमा निर्वाचन नहुँदा मुलुक अस्थिरतातर्फ जाने बताए ।
विराटनगरमा मंगलवार नेकपा एमाले २३ वटा भातृ संगठनले सडकमै पत्रकार सम्मेलन आयोजना गरेर स्थानीय तहको निर्वाचन समयमै घोषणा गर्न माग गरेका थिए ।
प्रचण्ड र नेपालले भेटे प्रधानमन्त्री देउवा
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
बुधवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा स्थानीय तह निर्वाचन, एमसिसी र सत्ता गठबन्धनका विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
उनीहरूबीच स्थानीय तह निर्वाचन, एमसिसी र सत्ता गठबन्धनलगायत विषयमा छलफल भएको सो छलफलमा प्रधानमन्त्री देउवाले संविधानको रक्षा र प्रतिगमनविरुद्ध बनेको सत्तारुढ गठबन्धन कुनै पनि हालतमा टुट्न नदिने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।
एमसीसी पेचिलो बन्दै गएको छ तर गठबन्धनमा समस्या छैन : बेदुराम भुसाल
नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले एमसीसीको विषय पेचिलो बन्दै गएको तर एमसीसीकै कारण गठबन्धनमा समस्या नभएको बताएका छन् ।
सत्तारुढ गठबन्धनले बनाएको कार्यदलको निष्कर्षपछि मात्रै गठबन्धन एमसीसीको विषयमा अघि बढ्ने उनले बताए ।
एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनमा देखिएका मतभेदहरू कार्यदलको निष्कर्षपछि समाप्त हुने पनि भुसालले बताए ।
स्थानीय तह चुनावको विषयलाई लिएर गठबन्धनमा कुनै विवाद नभएको भुसालले बताए ।
एमसीसीबारे ९ वटा दस्तावेजबारे कार्यदलले गम्भीर अध्ययन गरिरहेको उनले बताए । एमसीसीले देशलाई फाइदा नगर्ने हो भने पास गर्न नहुने भन्दै भुसालले एमसीसीका सबै दस्तावेज कसैले पनि पूरै नपढेको उनले दाबी गरे ।
‘गठबन्धनको मात्रै होइन, भविष्य कसैको पनि भन्न सकिँदैन । भविष्यवेत्ताहरूको भविष्यवाणी पनि काम लाग्दैन । अहिलेको स्थिति भन्ने हो भने चुनावको विषयलाई लिएर कुनै पनि खालको विवाद गठबन्धनमा छैन,’ भुसालले भने, ‘हामीले सहमतिमा नै स्थानीय चुनाव जेठमा गरौं भनेर टुंगो गरेका हौं । एमसीसीबारे केही मतभेदहरू छन् । त्यसमा हामी अहिले पनि अध्ययनमा छौं ।’
एमसीसी चुनावी एजेण्डा भएको तर एमसीसी मात्रै चुनावको विषय नभएको उनले बताए । ‘साँच्चै भन्ने हो भने एमसीसीसँग सम्बन्धित सबै दस्तावेज त कसैले अध्ययन गरेकै छैन । ९ वटा दस्तावेज त अहिले बाहिर आए । ९ वटा रहेछन् भन्ने कुरा पनि बल्ल जानकारी भयो । अरु पनि छन् कि थाहा छैन, यस्तै भएको कारणले यो विषय अलि पेचिलो बन्दै गएको हो,’ भुसालले भने ।
फागुन १९–२८ गतेसम्म धनगढीमा सर्वाधिक धनराशिको फूटबल प्रतियोगिता हुने
सुदूरपश्चिम ११ स्पोर्टस् क्लबको आयोजनामा धनगढीमा ‘मुख्यमन्त्री अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप २०७८’ प्रतियोगिता हुने भएको छ ।
सुदूरपश्चिमका युवालाई फूटबल खेलतिर उत्प्रेरित गराउनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यसहित फागुन १९–२८ गतेसम्म मुख्यमन्त्री अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप प्रतियोगिताको पाँचौं संस्करण हुने बुधवार धनगढीमा आयोजित पत्रकार सम्मलेनमा क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए ।
गोल्डकप प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।
प्रतियोगितामा उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकलाई नगद २० हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगिताको प्रत्येक खेलको म्यान अफ द म्याच खेलाडीलाई १० हजार रुपैयाँ दिइने छ ।
सुदूरपश्चिम प्रदेशको गरिमा बोकेको प्रतियोगितामा नेपालका ५ ए डिभिजन क्लब, मोफसलका २, विदेशी २ र आयोजक गरी जम्मा १० टीमको सहभागिता रहने आयोजकले बताएको छ ।
प्रतियोगिताका लागि १ करोड ५० लाखभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । फूटबल प्रतियोगिता देशकै सर्वाधिक धनराशिको भएको आयोजकको दाबी छ ।