
निर्वाचन आयोगको प्रस्तावअनुसार जेठ ४ गतेको लागि स्थानीय तहको चुनाव गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सहमति जनाए पनि मिति घोषणामा ढिलाइ भएको छ ।
निर्वाचन आयोगका पदाधिकारीसँग मंगलवार भएको छलफलमा सरकारले बिहीवार (आजसम्म) चुनावको मिति घोषणा गर्ने आश्वासन दिएको थियो ।
बिहीवार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरी पनि बिहीवार बैठक बस्ने/नबस्ने यकिन छैन । मन्त्रिपरिषद् बैठक बस्ने सम्भावना भए पनि हालसम्म समय यकिन नभएको एक मन्त्रीले लोकान्तरलाई बताए ।
‘अहिलेसम्म बैठकको समय तय भइसकेको छैन,’ ती मन्त्रीले भने ।
निर्वाचन आयोगले जेठ ४ गते एकै चरणमा स्थानीय तहको चुनाव मिति घोषणा गर्न सरकारलाई सिफारिस गरिसकेको छ । प्रधानमन्त्री देउवाले चुनाव मितिबारे गठबन्धनका दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग बुधवार छलफल गरेका थिए ।
प्रधानमन्त्री देउवासँग मंगलवार भएको छलफलअनुसार आयोगले चुनाव घोषणाका लागि गृह मन्त्रालयमा पत्र दर्ता गरिसकेको छ तर अमेरिकी आर्थिक सहायता कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) मा सहमति जुट्न नसक्दा चुनावको मिति घोषणामा ढिलाइ भइरहेको स्रोतले बतायो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको मिति घोषणा गर्न सरकारलाई बिहीवारसम्मको अल्टिमेटम दिएको छ ।
बिहीवार चुनावको मिति घोषणा नभए शुक्रवारदेखि जनपरिचालन गर्ने एमालेले चेतावनी दिएको छ । चुनावको मिति घोषणाका लागि दबाब दिन एमालेका भातृ संगठनहरूले सडकमा आन्दोलन गरिरहेका छन् ।