०६ असार २०८३, शनिबार

हाम्रो पात्रो एप टेलीहेल्थ सेवाबाट ३ महिनामा ५०० भन्दा बढी व्यक्तिले लिए सुविधा

हाम्रो पात्रो एप टेलीहेल्थ सेवाबाट ३ महिनामा ५०० भन्दा बढी व्यक्तिले लिए सुविधा

नेपालकै लोकप्रिय एप हाम्रो पात्रोले ल्याएको टेलीहेल्थ सेवामा ३ महिनामा ५०० भन्दा बढी कलहरू सम्पन्न भएका छन् ।

३ महिनाअघि मात्र डाक्टरलाई कल गर्न सकिने सुविधा प्रयोगकर्ताहरूमाझ लिएर आएको हाम्रो पात्रो मा ५० भन्दा धेरै विशेषज्ञ डाक्टरहरू उपलब्ध छन् ।

आफ्नो स्वास्थ्य समस्या अनुसारको आवश्यक परामर्श घरमै बसेर सजिलै लिन मिल्ने अनि विशेषज्ञ डाक्टर खोज्दै अस्पताल जानु नपर्ने भएपछि प्रयोगकर्ताहरूले छोटो समयमै सुविधालाई माया दिएका हाम्रो पात्रोले जनाएको छ ।

यसरी ५०० कल पूरा हुँदा बाल रोग विशेषज्ञ, आन्तरिक चिकित्सा र स्त्री रोग विशेषज्ञसँग धेरै परामर्श लिइएको देखिएको छ भने भक्तपुर, काठमाडौं र पोखराबाट धेरै कल आएका छन् । 

हाम्रो पात्रो, इंक. का सीईओ शंकर उप्रेतीले प्रयोगकर्ता तथा साझेदारहरूलाई धन्यवाद व्यक्त गरेका छन् । उप्रेतीले भने, ‘यति छोटो समयमा प्रयोगकर्ताहरूले हामीलाई देखाउनुभएको विश्वास सराहनीय छ । म सम्पूर्ण प्रयोगकर्ताहरूलाई उहाँहरूको समर्थन र विश्वासका लागि आभार व्यक्त गर्दछु । उहाँहरूको सकारात्मक प्रतिक्रियाले टेलीहेल्थ सुविधामा नयाँ विशेषताहरू थप्न हामीलाई थप हौसला प्राप्त भएको छ । हाम्रो लक्ष्य भनेको नेपाली प्रयोगकर्ताहरूलाई आवश्यक हुँदा घरबाटै कम शुल्कमा विज्ञ डाक्टरको परामर्श दिनु हो ।’

उनले अगाडि भने, ‘स्वास्थ्य सेवा प्रविधि प्रयोग गर्दा सहज हुने, कम खर्च लाग्ने र धेरै कुराहरूमा सीमितता नहुने हुँदा स्थानीय डाक्टर या क्लिनिकमा पहुँच नभएका ग्रामीण क्षेत्रका मानिसहरूलाई सेवा अत्यधिक उपयोगी हुनेछ भनेर हामीले सोचेका छौं । त्यसबाहेक प्रयोगकर्ताहरूले फलोअपको लागि डाक्टरसँग च्याट गर्न सक्ने र आफूले चाहेको मितिमा क्यालेन्डरमा नै अप्वाइटमेन्ट लिएर डाक्टरसँग परामर्श लिन सक्ने सुविधा छिट्टै सञ्चालनमा आउँदैछ ।’

प्रयोगकर्ताले स्वास्थ्यसँग सम्बन्धित कुनै पनि विषयमा छलफल गर्न ‘हेल्थ फोरम’ र घरमै बसी ल्याब टेस्ट अनि औषधि अर्डर गर्न मिल्ने सुविधा पनि हाम्रो पात्रो हेल्थमा चाँडै नै प्रयोगकर्ताले पाउने उप्रेतीले बताए । 

टेलीहेल्थ सेवा शुरू भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफर समेत प्रदान गरिरहेको जनाइएको छ । जसअनुसार प्रयोगकर्ताले हाम्रो पात्रोबाट मात्र २०० रुपैयाँमा विज्ञ डाक्टरसँग परामर्श लिन सक्नेछन्् ।

पात्रो हेर्ने, मिति परिवर्तन फिचरसँगै सन् २०१० मा आईओएसमा तयार भएको एप सन् २०१२ मा एन्ड्रोइड प्ले स्टोरमा राखिएको थियो । त्यसपछि हाम्रो पात्रोले नेपाली एपहरूमा नयाँ रेकर्ड कायम गर्दै आएको छ । १० लाख अनि ५० लाख हुँदै १ करोड डाउनलोड पूरा गर्ने हाम्रो पात्रो पहिलो नेपाली एप हो । 

प्रयोगकर्ताले हाम्रो पात्रोको यो सेवा प्रयोग गर्न एन्ड्रोइड र गूगल प्ले स्टोरमा गएर हाम्रो पात्रो एप डाउनलोड अथवा अपडेट गर्न सक्छन् ।

salt training

कमेन्ट गर्नुहोस्