उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी फुपू किम क्योङ नौ वर्षपछि सार्वजनिक स्थानमा देखिएकी छन् ।
क्योङ किमका पिता किम जोङ इलकी बहिनी हुन् । उनका पति जाङ साङ थाकलाई सन् २०१३ मा किमले राजद्रोहको आरोप लगाउँदै टाउको काटेर मार्ने सजाय दिएका थिए । त्यसपछि क्योङ सार्वजनिक स्थानमा देखिएकी थिइनन् । उनी सत्तारूढ दल वर्कर्स पार्टीकी वरिष्ठ अधिकारी थिइन् ।
अमेरिकाका खोजी पत्रकार बब वूडवर्डको पुस्तक रेजमा राष्ट्रपति डोनल्ड ट्रम्पले किमसँगको कुराकानीमा फुपाजुको हत्याको उल्लेख भएको भनी लेखिएको छ । किमले फुपाजुको हत्या गरेको अनि आफ्नो पैतालामुनि उनको शरीर राखेर छातीमाथि बसेर टाउको काटेको भनी ट्रम्पलाई सुनाएको पुस्तकमा उल्लेख गरिएको छ ।
किमका फुपाजु प्रभावशाली सैन्य अधिकारी थिए र उनी देशमा सुधारका पक्षपाती थिए । त्यसैले गर्दा किमले उनलाई मारेको बताइन्छ ।
फुपूसँगै किमकी पत्नी री सोल जु पनि धेरैपछि सार्वजनिक स्थानमा देखिएकी छन् ।