२० असार २०८३, शनिबार

प्रचार अभावले ओझेलमा कृष्णसार संरक्षण क्षेत्र, कृष्णसार बचाउन पनि चुनौती

माघ २०, २०७८
प्रचार अभावले ओझेलमा कृष्णसार संरक्षण क्षेत्र, कृष्णसार बचाउन पनि चुनौती

बर्दिया जिल्लाको खैरापुर लोपोन्मुख कृष्णसारको प्राकृतिक एवं स्थायी बासस्थान हो ।

लोपोन्मुख कृष्णसारको प्राकृतिक बासस्थान रहेको एसियाकै एक मात्र स्थान भए पनि प्रचारप्रसारको अभावमा यहाँ पर्यटकीय गतिविधि निकै न्यून छ ।

अर्कातर्फ कृष्णसारको संरक्षणमा पनि चुनौती छ ।

कृष्णसार संरक्षण क्षेत्र कार्यालय खैरापुर गुलरिया बर्दियाको गणना अनुसार अहिले यहाँ १६५ कृष्णसार छन्, तिनमा ४१ भाले र १२२ पोथी तथा २ बच्चा रहेको तथ्यांक छ ।

लोपोन्मुख कृष्णसार पाइने एक मात्र ठाउँ भए पनि पर्यटक आवागमन निकै न्यून रहेको रेञ्जर आशिष त्रिपाठीले बताए ।

‘प्रचार प्रसारको कमीका कारण यो ठाउँ पर्यटकीय क्षेत्रका रूपमा विकसित हुन सकेको छैन । अन्तर्राष्ट्रिय पर्यटकको भ्रमण एकदम कम मात्र छ । स्थानिय पर्यटक भने दिनको १५ देखि २० जना आउने गरेका छन्,’ त्रिपाठीले लोकान्तरसँग भने ।

१६.९५ हेक्टरमा फैलिएको संरक्षण क्षेत्रमध्ये ५.५ हेक्टरमा कृष्णसारहरूको बसोवास रहेको छ, जसलाई तारबारले घेरिएको छ । 

कृष्णसारहरू झुण्डमा बस्ने गर्छन् । उनीहरूको मुख्य आहारा घाँस हो ।

संरक्षण कार्यलयले घाँसको कमीका बेला कोदो, जौ, मुसुरोजस्ता अन्न बालीहरू पनि दिने गरेको छ ।

यस लोपोन्मुख प्रजातिलाई अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि सारिएको छ ।

यादव समुदायको बसोबास रहेको खैरापुरमा कृष्णसारलाई भगवान कृष्णको अवतार पनि मानिन्छ ।

त्यसकारण कृष्णसारको शिकार नगन्य छ ।

व्यवस्थापनमा चुनौती

कृष्णसार संरक्षण क्षेत्र भनिएता पनि क्षेत्रभित्रै रहेको बस्ती अहिले कृष्णसार संरक्षणको मुख्य चुनौती बनेको छ ।

रेञ्जर आशिष त्रिपाठीका अनुसार, १४२ घरधुरी रहेको उक्त बस्ती हटाउन पटकपटक पहल हुँदा पनि अहिलेसम्म हटाउन नसक्दा व्यवस्थापन मुख्य चुनौती बन्न पुगेको हो । 

त्यसैगरी संरक्षणभित्रै निर्मित गौशाला पनि कृष्णसार संरक्षणको अर्को चुनौतीका रूपमा रहेको छ ।

९ सयभन्दा बढी छाडा गाईवस्तु रहेको उक्त गौशाला पनि संरक्षण क्षेत्रभित्र नै रहेको छ । 

चरणका क्रममा उनीहरूबाट सर्ने विभिन्न रोग पनि कृष्णसार संरक्षणको एउटा मुख्य चुनौती हो । ती रोगहरूका कारण कृष्णसार मर्ने गरेका छन् ।

संरक्षण क्षेत्रभित्रकै बस्तीमा भुस्याहा कुकुरको टोकाइबाट पनि कृष्णसारहरू मर्ने गरेका छन् ।

चितुवा र हाइना जस्ता जंगली जनावरको आक्रमणमा पनि कृष्णसार पर्ने गरेको छ ।

गत वर्ष मात्रै चितुवाको आक्रमणमा परी ६५ कृष्णसार मरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्