०२ असार २०८३, मंगलबार

काठमाडौंमा ‘मोनोरेल’ सपना : कति गफ, कति काम ?

माघ २१, २०७८
काठमाडौंमा ‘मोनोरेल’ सपना : कति गफ, कति काम ?
प्रतिकात्मक तस्वीर

काठमाडौं उपत्यकाको यातायातको व्यवस्थापन गर्न ठूूला स्तरका सवारीसाधन आवश्यक रहेको चर्चा बेलाबेला हुने गरेको छ ।

निर्वाचन आउने बेलामा अझ त्यस्तो चर्चा विशेष हुने गर्दछ र सर्वसाधारणलाई आश्वासन पनि बाँडिन्छ ।

५ वर्षअघिको स्थानीय निर्वाचनताका पनि यस्तै आश्वासन बाँडियो । त्यसमा काठमाडौं उपत्यकामा मेट्रो रेल र मोनो रेलका सपना बाँडिए ।

सपना बाँडियो मात्र होइन, त्यसपछि बनेका स्थानीय तहका र अन्य सरकारले पनि उपत्यकामा रेल गुडिहाल्नेजस्ता भाषण गरे तर सरकारमा हुनेको भाषणको थेगो र सरकारी नीति तथा कार्यक्रमको हिस्साजस्तै बनेकोे मेट्रो रेल निर्माण अहिलेसम्म गफमै सीमित भएको छ ।

न अहिलेसम्म निर्माणको ढाँचा (मोडल) तय भएको छ न लगानीको सुनिश्चितता नै । ५ वर्षसम्म नेतृत्वको भाषणमा मात्र होइन त्यसको निकैअघि नै काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालन गर्न सकिने सम्भाव्यताबारे अध्ययन भएको हो ।

सन् २०१२ मा नै कोरियाली कम्पनी चुङसुङ इन्जिनियरिङले सम्भाव्यता अध्ययन गरेको थियो । सो कम्पनीले काठमाडौंको ५ वटा रुटमा ८७.१८ किलोमिटर मेट्रो रेल निर्माण गरी सञ्चालन गर्न सकिने अध्ययन प्रतिवेदन सरकारलाई बुझाएको थियो तर त्यो अध्ययन प्रतिवेदन अहिलेसम्म पनि अघि बढ्न सकेको छैन ।

रेल विभागका महानिर्देशक दीपक भट्टराईले काठमाडौं उपत्यकाको यातायात तथा ट्राफिक व्यवस्थापनका लागि मेट्रो रेल सञ्चालनको विकल्प नरहेको बताउँदै मेट्रो रेल निर्माण सरकारको प्राथमिकतामा रहेको दाबी गरे ।

रेलसम्बन्धी अध्ययनको काम अन्तर्राष्ट्रिय परामर्शदाताबाट गराउनुपर्ने तर केही वर्षदेखि विश्वव्यापी कोभिड–१९ को महामारीका कारण ती काम अगाडि बढ्न नसकेको तर्क उनले गरे । 

काठमाडौंको चोभार–सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक–बूढानीलकण्ठसम्म २२ किलोमिटर, कीर्तिपुर–कालीमाटी–नयाँबानेश्वर–एयरपोर्टसम्मको ११.१५ किमि, कोटेश्वर–चावहिल–स्वयम्भू–कोटेश्वरसम्म २८.५३ किमिमा मेट्रो रेल निर्माणका लागि अध्ययन गरिएको थियो ।

स्वयम्भू–डिल्लीबजार–बौद्धसम्म ११.७० किमि र धोबीघाट–सिंहदरबार–नक्साल–गोंगबुसम्म १३.८० किलोमिटरमा अध्ययन गरिएको थियो । १ दशकअघि नै गरिएको पूर्व सम्भाव्यता अध्ययनले ५ वटा रुटमा मेट्रो रेल निर्माण गर्न करीब साढे ५ खर्ब रुपैयाँ लगानी लाग्ने प्रारम्भिक प्रक्षेपण गरेको थियो ।

बनेन डीपीआर

सम्भाव्यता अध्ययन भएको करीब ८ वर्षपछि महाराजगञ्जदेखि सातदोबाटोसम्म मेट्रो रेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न विक्रम संवत् २०७६ माघमा रेल विभाग र चीनको चाइना रेलवे सियुआन कम्पनी लिमिटेड तथा नेपालकै सीईएमएटी कन्सलट्यान्ट (जेभी) बीच १ वर्षभित्र प्रतिवेदन बुझाउने गरी सम्झौता भई काम अगाडि बढाइएको थियो, जुन अहिलेसम्म सम्पन्न हुन सकेको छैन । अन्य ४ रुटको डीपीआर निर्माण शुरू हुन सकेको छैन ।

रेल विभागका प्रवक्ता अमन चित्रकारले महाराजगञ्जदेखि सातदोबाटोसम्म निर्माण गरिने प्रस्तावित मेट्रो रेलमार्ग ललितपुर खण्डमा एलिभेटेड (जमिनमाथि) निर्माण गर्नुपर्ने सम्भाव्यता अध्ययनले देखाएको छ तर रातो मत्स्येन्द्रनाथको रथ यात्रा त्यही रुट भएर पर्ने भएकाले ललितपुर महानगरपालिका र अन्य संघ, संस्थाले सो क्षेत्रमा जमिनमाथिबाट मेट्रो रेल निर्माण नगर्न दिएको सुझाव र दबाबका कारण अध्ययन कार्य अगाडि बढ्न नसकेको बताए ।

उनले ललितपुर महानगरपालिकाले रेल विभागलाई पत्राचार नै गरेर काम अगाडि नबढाउन आग्रह गरेको जानकारी दिए ।

ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जनले महाराजगञ्जदेखि सातदोबाटोसम्मको मेट्रो रेल निर्माणको डिजाइन ललितपुरको सांस्कृतिक महत्त्व र भावनाविपरीत रहेको बताउँदै ललितपुर क्षेत्रमा एलिभेटेड (जमिनमाथि) मेट्रो रेल आफूहरूलाई स्वीकार्य हुन नसक्ने भएकाले रेल विभागलाई कार्य अगाडि नबढाउन पत्राचार गरिएको स्पष्ट पारे ।

उनले भने, ‘रातो मत्स्येन्द्रनाथको रथ जाने रुटमा भूमिगत मेट्रो रेल निर्माण गर्नुबाहेक अरू कुनै विकल्प हुनै सक्दैन । धार्मिक दृष्टिकोणले असम्भव हुने भएकाले महानगरले रेल विभागलाई सो प्रस्ताव गरेको हो ।’

हरायो मोनो रेल

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा ३ वर्ष भित्रमा नै सञ्चालनमा ल्याइसक्ने कार्ययोजनासहित कार्यक्रम अगाडि बढाएको मोनो रेल पनि अहिलेसम्म गफमै सीमित भएको छ । मोनो रेलको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार भए पनि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अहिलेसम्म तयार हुन सकेको छैन ।

काठमाडौंको चक्रपथमा मोनो रेल सञ्चालनका लागि १ वर्षभित्रमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न काठमाडौं महानगरपालिका र चाइना रेलवे कम्पनी लिमिटेड (सीसीआरसी, ब्युरो २५) बीच २०७५ पुस ४ गते नै समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको थियो ।

मोनो रेल सञ्चालनका लागि त्यसको सम्भाव्यता अध्ययन समेत (फिजिबिलिटी स्टडी) समेत चाइना रेलवे कम्पनी लिमिटेडले नै गरेको थियो ।

काठमाडौं महानगरपालिकाको पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापाले चक्रपथको कलंकीदेखि चावहिलसम्मको विस्तार कार्य अगाडि बढ्न नसक्दा मोनो रेलका लागि डीपीआर हुन नसकेको बताए । चक्रपथ विस्तारकै कारणले मोनो रेलको काम अगाडि बढ्न नसकेको बताउँदै उनले मोनो रेल चक्रपथमा नै सञ्चालन गर्ने भएकाले चक्रपथको विस्तार कार्य नभएसम्म डीपीआरको कार्य अगाडि बढ्न नसक्ने स्पष्ट पारे । उनले भने, ‘अहिलेको चक्रपथमा डीपीआर निर्माण गर्ने हो भने चत्रपथ विस्तारपछि फेरि अर्को डीपीआर निर्माण गर्नुपर्ने हुन्छ ।’

चक्रपथलाई ३ चरणमा विभाजन गरी मोनो रेल निर्माण गर्न सकिने सम्भाव्यता अध्ययन प्रतिवेदनले देखाएको छ । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्