
५ दल आवद्ध सत्ता गठबन्धनको निरन्तरताबारे प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र २ धार देखिएको छ ।
कांग्रेसको संस्थापन पक्ष र संस्थापनइतर पक्ष ५ दल आवद्ध सत्ता गठबन्धनलाई आगामी तीनै तहका निर्वाचनमा निरन्तरता दिने वा गठबन्धन तोडेर जाने भन्ने विषयमा विभाजित बनेका हुन् ।
सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको संस्थापन समूह आगामी स्थानीय तहको निर्वाचन र त्यसपछिका प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा समेत हालको सत्ता गठबन्धनलाई निरन्तरता दिँदै अघि बढ्नुपर्ने पक्षमा छ । देउवालाई नेता रामचन्द्र पौडेलले पनि गठबन्धनको निरन्तरताको विषयमा साथ दिँदै आइरहेका छन् ।
तर इतर समूहको नेतृत्व गरेका डा. शेखर कोइराला समूह भने सत्ता गठबन्धनको निरन्तरता अब आवश्यक नरहेको निष्कर्षमा पुगेको छ ।
पछिल्लो समय स्थानीय तहको निर्वाचनका विषयमा गठबन्धन आबद्ध दलहरू अलमलमा परेपछि डा. कोइरालाले गठबन्धनको आवश्यकता अब नरहेको बताएका थिए । उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै अघि बढ्नुपर्ने समेत बताउँदै आइरहेका छन् ।
सो समूहबाट कांग्रेस महामन्त्रीमा निर्वाचित युवा नेता गगन थापा समेत आगामी निर्वाचनमा कांग्रेस कुनै दलसँग गठबन्धन गरेर नजाने र एक्लै भिड्ने बताउँदै आइरहेका छन् तर कांग्रेस नेता पौडेल भने विपक्षी दललाई सहयोग पुर्याउने गरी पार्टीभित्रै गठबन्धनबारे विरोधका आवाज उठ्नु गलत भएको बताउँछन् ।
‘अहिले जसले हाम्रो पार्टीभित्र गठबन्धनको विरोध गरेका छन् उनीहरूले केपी ओली र एमालेलाई सहयोग पुर्याइरहेका छन्, यस्ता अभिव्यक्ति किन उठिरहेको छ, मलाई अचम्म लागेको छ, निर्वाचनमा कहाँ–कहाँ गठबन्धन गर्ने भन्ने विषयमा भने छलफल हुनुपर्छ,’ कांग्रेस नेता पौडेलले भने ।
तर प्रधानमन्त्री समेत रहेका देउवाले भने अमेरिकी सहयोग परियोजनाबारे समेत सत्तारूढ दलहरूबीच सहमति गरेरै गठबन्धनलाई अघि बढाउन चाहेका छन् ।
देउवानिकट नेता मीन विश्वकर्माले आगामी तीनै तहका निर्वाचन, एमसीसी परियोजना, राष्टिय राजनीतिका अन्य मुद्दा सबैमा ५ दल आबद्ध गठबन्धनभित्र सहमति गरेर अघि बढ्न चाहेको जानकारी दिए ।
‘प्रधानमन्त्री आगामी तीनै तहका निर्वाचन, एमसीसी परियोजना, राष्ट्रिय राजनीतिका अन्य मुद्दा सबैमा ५ दल आवद्ध गठबन्धनभित्र सहमति गरेर अघि बढ्न चाहनुहुन्छ, सबै विषयमा सहमतिका साथ अघि बढ्ने उहाँको इच्छा हो, त्यहीअनुसार संवाद पनि जारी छन्,’ विश्वकर्माले भने ।
तर कांग्रेस भित्रको संस्थापनइतर पक्षमा रहेका नेताहरू भने सत्ता गठबन्धन कायम राखेर निर्वाचनमा गए कांग्रेसलाई असर गर्ने बताउँदै आइरहेका छन् । इतर पक्षका नेताहरू कांग्रेसका मतदाताले अन्य निर्वाचन चिह्नमा मतदान गर्न नसक्ने भन्दै गठबन्धन कायम रहनुपर्ने विषयमा असन्तुष्टि राख्दै आइरहेका हुन् । राजधानीमा खबर छ ।