२३ असार २०८३, मंगलबार

हावाहुरी र हिमपातले अप्ठ्यारोमा परेकालाई तत्काल राहतको व्यवस्थापन गर्न गृहमन्त्रीको निर्देशन

हावाहुरी र हिमपातले अप्ठ्यारोमा परेकालाई तत्काल राहतको व्यवस्थापन गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले तराईमा हावाहुरीका कारण मृत्यु भएका ३ जना तथा पहाडी र हिमाली जिल्लामा हिमपातका कारण अप्ठ्यारोमा परेकाहरूलाई तत्काल व्यवस्थापन र राहत उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

शनिवार बिहान गृहमन्त्री खाँणले मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीपकुमार कोइराला तथा तराईका २, हिमाली जिल्लाका ८ प्रमुख जिल्ला अधिकारी र १ सहायक प्रमुख जिल्ला अधिकारीलाई हिमपात र हावाहुरीका कारण अप्ठ्यारोमा परेकालाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिए ।

शुक्रवार दिउँसो धनुषाको सवैला नगरपालिका–१२ मा अवस्थित फकिरचन उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा भिक्स मसालाको हाँगा भाचिँदा महेन्द्र सदाकी ८ वर्षीया छोरी प्रतिमाकुमारी र चन्द्रशेखर सदाका ७ वर्षीय छोरा अरविन्दको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीले जानकारी दिए ।

गृहमन्त्री खाँणले बिहान सहायक प्रमुख जिल्ला अधिकारी कुमारी र नेपाल प्रहरीका जिल्ला प्रमुख बसन्त रजौरेलाई बच्चाहरूको अन्त्यष्टि र अन्य आवश्यक राहतको व्यवस्था गर्न निर्देशन दिए ।

शुक्रवारै रौतहटको बुधिमाई नगरपालिका–१ मा कच्ची खपडाको घर ढलेर भित्ताले च्याप्दा राममंगल रायकी पत्नी ४५ फुलमतियादेवी मृत्यु भएको थियो । त्यही घरमा रहेका २ बाख्रा पनि च्यापिएर मरेका थिए ।

गृहमन्त्री खाँणले रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही र प्रहरी प्रमुख एसपी विनोद घिमिरेलाई आवश्यक राहतको व्यवस्था गर्न निर्देशन दिए ।

गृहमन्त्री खाँणले महाशाखा प्रमुख कोइरालालाई शनिवारको दिन भए पनि हिमाली जिल्लाको हिमपात र तराईमा हावाहुरी र शितलहरमा परेर अप्ठ्यारोमा कोही परेको भए राहत र अन्य आवश्यकीय कार्यका लागि सतर्क रहन निर्देशन दिए ।

‘शनिवार भए पनि हिमपात, शितलहर र हावाहुरीका घटनामा तत्काल उद्धार र राहतको व्यवस्था गर्नु पर्ने हुनसक्छ, सतर्क रहनुहोला भन्ने निर्देशन मन्त्रीज्यूबाट भएको छ,’ महाशाखा प्रमुख कोइरालाले भने ।

मन्त्री खाँणले प्रमुख जिल्ला अधिकारीहरू दिर्घराज उपाध्याय (दार्चुला), विजयाकुमारी पर्साई (जुम्ला), गणेश आचार्य (हुम्ला), शंकरहरि आचार्य (गोरखा), उमेश पाण्डे (ताप्लेजुङ), गणेशबहादुर शाही (सोलुखुम्बु), दिलकुमार तामाङ (ओखलढुंगा) र फणिन्द्र दाहाल (खोटाङ) लाई हिमपातको असर कस्तो छ, तत्काल व्यवस्थापन गर्नुपर्ने के छ, सतर्क रहेर काम गर्न निर्देशन दिए ।

डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीसँग पनि कुराकानी गरेर जिल्लाको अवस्थाबारे जानकारी लिए ।

सोलुखुम्बुका प्रजिअ शाहीले मन्त्री खाँणले हिमपातको असर र व्यवस्थापनबारे जानकारी लिँदै आवश्यक सतर्कता अपनाउन निर्देशन दिएको बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्