
बुटवलका खेम पुन औषधिका थोक बिक्रेता हुन् । खेम र उनकी पत्नी ओमी व्यवसायसँगै दीनदुःखीको उपकारमा पनि रमाउने गर्छन् ।
परोपकारी पुन दम्पती विपन्न बालबालिकाका लागि सच्चा अभिभावक बनेका छन् । पवित्र भावका साथ उनीहरूले खेम ओमी पुन कल्याणकारी प्रतिष्ठान गठन गरी १ करोड रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।
त्यहीँ कोषबाट पुन दम्पतीले आर्थिक अभावले पढाइबाट टाढिने अवस्थामा पुगेका बालबालिकालाई पढाएर डाक्टर बनाएका छन् । प्रतिष्ठानले हालसम्म २५ बालबालिकालाई सहयोग गरिसकेको छ । जसमध्ये ४ जना छात्रछात्रा एमबीबीएस पूरा गरिसकेर एमडी गर्दैछन् ।
इन्जिनीयर, कानून, बीडीए, बी फार्मेसी हुँदै २५ जनाले कोषको रकमबाट पढ्दै आइरहेका छन् । कोषबाट पढेका जेहेन्दार र विपन्न विद्यार्थीले पुन दम्पतीलाई ‘भाग्य विधाता’ भन्छन् ।
आफ्नो ५१ औं जन्मदिनको अवसर पारेर पुनले २०७० मंसिर १७ गते १७ लाख रुपैयाँबाट शुरू गरेको प्रतिष्ठानमा १ करोड रुपैयाँ जम्मा भइसकेको छ । कोष स्थापनापछि प्रत्येक वर्ष पुनले जन्मदिनको अवसरमा १०/१० लाख रुपैयाँ थप्दै १ करोड पुर्याए । पुनले आम्दानीको निश्चित प्रतिशत रकम सामाजिक क्षेत्रमा खचिँदै आएका छन् । शिक्षामा पुनका पाइला साँच्चै मनकारी छन् ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका ट्राफिक चोकमा उनले ३ दशकदेखि खेम इन्टरप्राइजेज चलाइरहेका छन् । विक्रम संवत २०१९ सालमा गुल्मीको सत्यवती गाउँपालिका–८ (साविक भार्से गाविस) मा जन्मिएका पुनले हालसम्म जे जति काम सामाजिक क्षेत्रमा गर्न सकियो, त्यसबाट आफू अत्यन्तै खुशी रहेको बताए ।
कोषबाट पढेर एमबीबीएस पूरा गर्नेमा नगेन्द्र श्रीष, जमुना श्रेष्ठ, विपिन चौधरी र काशिराम विक छन् । २ जना राजकुमार गुप्ता र दिनेश बफालले एमबीबीएस अध्ययन गरिरहेका छन् ।
‘शिक्षाभन्दा ठूलो अरू केही छैन,’ पुन भन्छन्, ‘सक्नेले नसक्नेलाई सहयोगको प्रयास गरौं भन्ने लागेर आर्थिक अभाव झेलेका बालबालिकालाई पढाइमा सहयोग गरेका हौं ।’
प्रतिष्ठानले हालसम्म ४५ लाख रुपैयाँ सहयोग गरेको छ । आफूले गरेका परोपकारी कामको प्रचारप्रसार गर्न खेम त्यति रुचि देखाउँदैनन् । ‘पढाइमा अब्बल हुँदाहुँदै पनि आर्थिक अवस्था कमजोर भएर पढाइ पूरा गर्न नसक्ने विद्यार्थीलाई सहयोग गर्नु प्रतिष्ठानको उद्देश्य हो,’ पुन भन्छन् ।
उनी अरूसँग लिनुभन्दा दिन रमाउँछन् । पुन दम्पतीका १ छोरा र १ छोरी छन् ।

दम्पतीको परोपकार कल्याणकारी कोषमा मात्र सीमित छैन । छोराको बिहेमा भोज खर्च कटाएर १० लाख रुपैयाँको ‘राजु–सरिता पुन भोजन सहयोग कोष’ स्थापना गरे । त्यसको ब्याजबाट गरीब, अनाथ, अपाङ्गता भएका व्यक्तिलाई खानामा सहयोग गर्ने गरिन्छ ।
जन्मभूमि गुल्मी भार्सेमा उनले बुवा मनबहादुर र आमा गौरीको नामबाट ‘मन–गौरी पुन शैक्षिक अक्षयकोष’ खोलेका छन् । त्यसमा आफ्नो ६ लाख र २ दाजुहरूको १ लाख गरी ७ लाख रुपैयाँ छ । त्यो कोषबाट जनसहयोग माविका विपन्न बालबालिकाले प्रत्येक वर्ष पाठ्यपुस्तक र पोसाक पाउँछन् ।
पुनले उपचार नपाएर ओछ्यानमा थलिएका बुटवलका खेम फाल मगरको उपचार गराएर नयाँ जीवन दिलाएका छन् ।
हजुरआमा कला पुनको स्मृतिमा २ लाख रुपैयाँ दिएर ‘कला पुन महिला समूह’ बनाएका छन् । समूहमार्फत बीउ पुँजी दिएर स्थानीय महिलालाई आयआर्जनमा लगाएका छन् ।
रूपन्देहीमा ज्येष्ठ नागरिक मिलन केन्द्र, शवदाह गृह, ध्यान योग केन्द्र बनाउनेदेखि सामाजिक भवन बनाउन पुनले रकम खर्चेका छन् ।
पाल्पा कारागारमा आमाबुवासँगै रहेका बालबालिकादेखि युवाको पढाइमा पनि पुन दम्पतीले सघाएका छन् । बाग्लुङको नरेठाँटी पुनर्निर्माण, रक्त सञ्चार केन्द्र, बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, नवलपरासीको सामुदायिक प्राकृतिक चिकित्सालय लगायत निर्माणमा पनि सहयोग गरेका छन् ।
अन्य सानातिना सहयोग त कतिलाई गरे गरे, उनलाई सम्झना नै छैन । उनी कसैको पनि दुःख देख्न सक्दैनन्, सहयोग गरिहाल्छन् ।
पुनले अब महिला छात्राबास सञ्चालन गर्ने सोच बनाएका छन् । त्यसका लागि उनले महिलाहरूसँग रायसुझाव लिएर अगाडि बढ्ने सोचेका छन् ।
‘विपन्न छोरीहरू बसेर पढ्ने ‘गर्ल्स होस्टेल’ खोल्ने सोचेको छु,’ पुन भन्छन् ।
उनले आफ्नो जीवनपछि पनि कल्याणकारी कोषले निरन्तरता पाउने प्रबन्ध मिलाएका छन् । ‘मानिस मरेर जान्छ तर संस्था सदाकालका लागि जीवन्त रहन्छ । तसर्थ यो संस्था हाम्रो जीवनकालपछि पनि चलिरहोस्,’ पुन दम्पतीको अपेक्षा छ ।
मध्यम वर्गीय परिवारमा जन्मिएका पुन सानैदेखि सहयोगी र दयालु स्वभावका थिए । खेम साढे २ वर्ष उमेरका हुँदा भारतीय सेनाका जागिरे उनका बुवा मनबहादुरको निधन भयो । ३५ वर्षको उमेरमै विधवा भएकी आमा गौरीले खेमसहित ३ हुर्काएर पढाइन् । खेम परिवारका कान्छा छोरा हुन् । उनले आईएस्सीसम्म पढेका छन् ।
खेम बौद्ध धर्मअनुसार ध्यान र हिन्दू धर्मको गीता पाठको प्रभावले समाजसेवामा लागेका हुन् । ‘विपश्यनाले जीवनको अर्थ बुझायो । गीताले सही समयमा सही व्यक्तिलाई दिने दानको महत्त्व सिकायो,’ उनले भने, ‘त्यसपछि कमाइको केही प्रतिशत रकम सर्लक्क समाजसेवामा लगाउन थालें ।’
प्रतिष्ठान शैक्षिक तथा सामाजिक रूपान्तरणको एउटा कोशेढुंगा बन्न पुगेको प्रतिष्ठानका सचिव युवराज घिमिरे बताए । समाजमा प्रशस्त धन सम्पत्ति कमाउने व्यक्ति भए पनि समाजसेवामा खर्च गरेको कमैलाई मात्र देख्न सकिन्छ ।
अक्षयकोषको सहयोगबाट एमबीबीएस पूरा गरेका डा. काशीराम विकले पुन दम्पतीले गरेको सहयोग शब्दमा वर्णन गर्न नसकिने बताए । ‘उहाँहरूले मलाई लगाउनुभएको ऋण कसरी तिर्न सकूँला र !’ डा. विकले भने ।
कमाइको केही प्रतिशत समाजसेवामा लगाउनुपर्छ भन्नेका लागि खेम प्रेरणाको स्रोत बनेका छन् । व्यावसायिक मर्यादाभित्र रहेर काम गरेका कारण नै अहिले सफल व्यवसायी र असल समाजसेवीका रूपमा पुन दम्पती स्थापित भएका छन् । ‘आफू बाँच्ने र अरूलाई पनि बचाउन सकेजति सहयोग गर्नुपर्छ,’ पुनले भने ।