
बिहीबार रातिदेखि परेको वर्षाका कारण देशभर पाँच जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले माघ २१ देखि २२ गते बिहानसम्म पाँच जनाको मृत्यु भएको जनाएको छ ।
सो अवधिका २८ वटा विपत् घटनामा ११ जना घाइते भएका छन् । सो घटनामा करिब ९४ लाखबराबरको क्षति भएको प्राधिकरणको अनुमान छ
। हुरीले धनुषा जिल्ला सबैला नगरपालिका–१२ फकिरचन माध्यमिक विद्यालयको रुख ढल्दा च्यापिएर एक बालिका र एक बालकको मृत्यु भएको छ ।
त्यस्तै, चट्याङ लागेर सुर्खेतको भेरीगङ्गा नगरपालिका–११ साँदीखोलाकी ३५ वर्षीया महिलाको मृत्यु भएको छ । यसैगरी, सल्यानको बनगार कुपिन्डे नगरपालिका–७ की ४० वर्षीया महिलाको पनि चट्याङमा परी मृत्यु भएको छ ।
गोठ भत्कँदा रौतहटको बौधीमाई नगरपालिका–१ अजगैबीकी ४५ वर्षीया महिलाको मृत्यु भएको छ । गोरखापत्र दैनिकमा खबर छ ।