
पछिल्लो समय कोरोनाभाइरस संक्रमितको संख्या क्रमशः घट्दै गएको छ । पछिल्लो २४ घण्टामा एक हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएकामा त्यसको अघिल्लो दिन शुक्रबार २५२६ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै बिहीबार ३ हजार १७५ जनामा संक्रमण पुष्टि भएको थियो भने बुधबार ३ हजार ६३७, मंगलबार ५ हजार ५८३, सोमबार ५ हजार २९२ र आइतबार ३ हजार ५४० जनामा संक्रमण पुष्टि भएको थियो । एक साताको तथ्यांक हेर्दा संक्रमण घट्दै गएको देखिएको छ । गत आइतबार सक्रिय संक्रमित देशभर ८३ हजार ९९९ जना रहेकामा सो संख्या घटेर शनिबारसम्म आइपुग्दा ५२ हजार ७८० मा झरेको छ । अर्थात निको हुने दर पनि बढ्दै गएको छ ।
हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ८०३ पुगेको छ । हालसम्म संक्रमितमध्ये कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ९ लाख ६३९ पुगेको छ । यस्तै संक्रमितको कुल संख्या भने ९ लाख ६५ हजार २२२ जना रहेको छ ।
००००
यस्तै पछिल्लो २४ घण्टामा ५ लाख ८८ हजार ४४० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । यससँगै अहिलेसम्म ३ करोड ३८ लाख २६ हजार ३३० मात्रा खोप लगाइसकिएको छ । जसमध्ये एक मात्रा लगाउनेको संख्या १ करोड ७७ लाख ४० हजार ८३५, पूर्णमात्रा लगाउने १ करोड ५४ लाख ८२ हजार ८७ तथा बुस्टर डोज लगाउनेको संख्या ६ लाख ३ हजार ४०८ जनाले लगाएका छन् ।
००००
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक माघ २७ गते बस्ने भएको छ । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी बिहीवार दिउँसो २ बजे कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।
००००
मोरङ उखुबारी हत्याकाण्डमा संलग्न भएकामध्ये तीन जनालाई ४० हजार रूपैयाँ दिएर शव गाड्न लगाएको खुलेको छ । मोरङको रंगेली नगरपालिका–३ का ३० वर्षीय मोहम्मद सुभान मिया, सुनसरीको देवागञ्ज गाउँपालिका–६ का १८ वर्षीय हकिम मन्सुरी र धनपालथान गाउँपालिका–७ कमलपुर पश्चिम टोलका ६२ वर्षीय नासिर आलमलाई पैसा दिएर खाल्डो खन्ने, डोरी किन्ने, नुन किन्ने तथा शव गाड्न लगाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीले बताए ।
उनका अनुसार उनीहरू दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने तथा आर्थिक अवस्था कमजोर भएको परिवारका हुन् ।
सिरहा नगरपालिका–२१ घर भई काठमाडौंको बल्खु बस्दै आएका ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका–४ सिस्बनीका २९ वर्षीय अमित भन्ने दिनानाथ साह मुख्य योजनाकार रहेको एसपी जिसीले बताए ।
००००
प्यूठानमा शुक्रवार राति जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु भएकामध्ये एकै परिवारका तीन जना परेका छन् । नेपाली कांग्रेस गौमुखी गाउँपालिका उपसभापति बसन्त खड्का, उनकी श्रीमती बसन्ती र छोरी एलिसाको पनि मृत्यु भएको छ । खड्काका एक छोरा भने जन्तमा सहभागी थिएनन् ।
कांग्रेस प्यूठानका सभापति विष्णु गिरीले दुर्घटनापछि गाउँ शोकमा डुबेको बताए । दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन् ।
‘हाम्रो पार्टीको गाउँपालिका उपसभापतिसहित उहाँको परिवार दुर्घटनामा र्पयो,’ गौमुखी गाउँपालिका अध्यक्षसमेत रहेका गिरीले लोकान्तरसँग भने, ‘यस्तो बज्रपात आइलाग्यो हामीलाई आइलाग्यो ।’
गौमुखी–६ ओखरपाटाबाट बेहुली लिएर फर्कंदै गरेको ग १ ज ५०९२ नम्बरको जीप ओखरपाटामा दुर्घटना भएको हो ।
दुर्घटनामा दुलही रिमा जिसी, दुलाहा दानबहादुर खड्कासहित अन्य घाइतेको थप उपचारको लागि बुटवल ल्याइएको छ ।
प्यूठानमा केही वर्ष अगाडि जन्ती बोकेको बस दुर्घटना हुँदा ४१ जनाको मृत्यु भएको थियो । अहिले फेरि जन्ती बोकेको गाडी दुर्घटनाले त्यो घटनालाई सम्झाएको छ ।
००००
मधेश प्रदेश सरकारले प्रदेशका किसानको समस्या पहिचान तथा समाधान गर्नका लागि उच्चस्तरीय समिति गठन गरेको छ । शनिवार बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो ।
समितिमा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री शत्रुधन महतो, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह, अर्थमन्त्री शैलेन्द्रप्रसाद साह र खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश सर्राफ छन् ।
००००
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । परीक्षामा ४२ हजार ४३ परीक्षार्थी सहभागी भएकामा ४ जनाको परीक्षाफल रद्द गरिएको छ ।
कार्यालयले माघ २ र ३ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गरेको थियो भने बोर्डको शुक्रबार बसेको बैठकको निर्णयानुसार नतिजा प्रकाशन गरिएको हो ।
००००
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान र कानूनले तोकेको समयमै स्थानीय तहको निर्वाचन नभए सरकारविरुद्ध जनपरिचालन गर्ने चेतावनी दिएका छन् ।
प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसको अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले स्थानीय तह निर्वाचनको मिति सरकारले घोषणा नगरे त्यसको रक्षाका लागि पनि आफूहरूले सरकारविरुद्ध आन्दोलन गर्ने बताएका हुन् ।
००००
एमसीसी सम्झौता विरोधी विभिन्न राजनीतिक पार्टी र मोर्चाले माघ २६ गते राजधानीमा बृहत जनप्रदर्शन गर्ने भएका छन् । राजधानीमा शनिबार आयोजित २२ वटा राजनीति पार्टी, मोर्चा, अभियान र संगठनहरुको बैठकले उक्त निर्णय गरेको हो । बैठकले २६ माघको जनप्रदर्शनका विषयमा २४ माघमा पत्रकार सम्मेलन गरेर थप जानकारी दिने निर्णय समेत गरेको छ ।