
वीरगञ्ज भन्सार कार्यालयले बेरुजु रकम दाखिला नगर्ने १८६ कम्पनी र फर्मको कारोबार रोक्का गर्ने निर्णय गरेको छ ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले लामो समयदेखि कारोबार गर्दै आएका १८६ कम्पनी र फर्मलाई विभिन्न मितिमा लिखित र मौखिक रूपमा बेरुजु रकम दाखिला गर्न आग्रह गर्दा पनि वास्ता नगरेकाले त्यस्ता कम्पनी र फर्महरूको कारोबार रोक्का गरिएको जनाए ।
कारोबार रोक्का भएपछि हाल विभिन्न फर्म र कम्पनीले बेरुजु रकम दाखिला गर्न आएको उनले बताए ।
उनले त्यस्ता कम्पनीले घटीमा ४० हजार र बढीमा ४० लाख रुपियाँसम्म बेरुजु फस्र्योट गर्न बाँकी रहेको बताए ।
केही कम्पनीले आर्थिक वर्ष २०६०/६१ देखि बक्यौता नतिरेकाले यस्ता कम्पनी र फर्महरूबाट लगभग १७ करोड रुपियाँभन्दा बढी बक्यौता लिनुपर्नेछ ।
बेरुजु रकम दाखिला नगर्ने प्रमुख कम्पनी र फर्ममा नेपाल टेलिकम, भ्याली कोल्डस्टोर, पतञ्जली आयुर्वेद, अर्किड इन्टरनेसनललगायतका कम्पनी रहेका छन् । गोरखापत्र दैनिकमा खबर छ ।