
सारेगमप लिटल च्याम्प नेपालको पहिलो उपाधि झापाकी कृपा पौडेल जितेकी छन् । अन्तिम पाँच प्रतिस्पर्धीलाई पछि पारेकी पौडेलले उपाधिसँगै नगद १६ लाख जितेकी हुन् ।
नेपालको सर्वाधिक चर्चित गायन रियालिटी शोको फस्ट रनरअप पनि झापाकी रोशा फुयाल, दोस्रो रनरअप भारत सिलगुडीका आदित्य विश्वकर्मा भएका छन् ।
पहिलो र दोस्रो रनरअपले क्रमशः सिद्धार्थ बैंकका तर्फबाट ४ लाख र ३ लाख प्राप्त गरेका छन् ।
नोवर्डी प्रोडक्सनले भारतको जी ग्रुपसँग फ्रेन्चाइजी लिएर नेपाल भित्र्याएको रियालिटी सोको अन्तिम प्रतिस्पर्धासम्म पुगेका पर्वतका अरुण परियार र भक्तपुरकी अविक्षा घिमिरेले पनि उत्कृष्ट पुरस्कार जितेका छन् ।
कार्यक्रमको अन्तिम पाँच प्रतिस्पर्धीलाई ३/३ वटा गीत रेकर्ड तथा म्युजिक भिडियो, नेपालका साथै वर्ल्ड टुर तथा कक्षा १२ सम्मको अध्ययनको व्यवस्था आयोजकले मिलाउने छ ।
कार्यक्रमको डिजिटल र फिजिकल अडिसनमा देश विदेशका ३० हजार भन्दा बढी प्रतिस्पर्धी सहभागी भएका थिए । सहभागी मध्येबाट मेगा अडिसनमा छानिएका ६० जनाबाट ग्राण्ड अडिसनमा ३५ जना र ग्राण्ड प्रिमियरमा १५ जना पुगेका थिए ।
कार्यक्रमको निर्णायकमा न्ह्यु बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी थिए । त्यस्तै १५ जना चर्चित गायकगायिकाहरू पनि ग्रान्ड जुरीका रुपमा भूमिकामा थिए ।
१६ वर्ष मुनिका बालबालिका मात्रै सहभागी हुन पाउने नेपालकै पहिलो रियालिटी विभिन्न चरणमा १८ हप्ता चलेको थियो ।