१५ असार २०८३, सोमबार

सुर्खेतमा आजदेखि प्याराग्लाइडिङ उडान

माघ २३, २०७८
सुर्खेतमा आजदेखि प्याराग्लाइडिङ उडान
फाइल तस्वीर।

सुर्खेत उपत्यकामा आइतवारदेखि नियमितरुपमा प्याराग्लाइडिङ उडान शुरू हुने भएको छ । वेलकम प्याराग्लाइडिङ प्रालिले वीरेन्द्रनगर नगरपालिका–१४ बयलकाँडा र वडा नं १ देउती थानलाई केन्द्र बनाएर उडान गर्ने तयारी गरेको छ । 

कम्पनीका सञ्चालक पदमबहादुर शाहीले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सञ्चालन अनुमति प्राप्त गरिसकेको बताए । प्राधिकरणले शाही मुख्य सञ्चालक रहेको वेलकम प्याराग्लाइडिङ प्रालिलाई एक वर्षको उडान अनुमति दिएको हो । 

सञ्चालक शाहीले विश्व कीर्तिमानी प्याराग्लाइडिङ पाइलट सानुबाबु सुनुवारले उडान भर्ने जानकारी दिँदै प्रतिव्यक्ति तीन हजार ५०० रूपैयाँ शुल्क निर्धारण गरिएको उल्लेख गरे । 

समूहमा उडान भर्नेलाई विभिन्न अफर राखिएको छ । पाँच जनाको समूहलाई तीन हजार २००, १० जनाको समूहलाई दुई हजार ८०० र १० भन्दा बढी आउनेलाई दुई हजार ५०० रूपैयाँ शुल्कमा प्याराग्लाइडिङ उडान भर्न पाउनेछन् । 

उडान शुल्कबाहेक फोटो र भिडियो लिन चाहनेले भने थप एक हजार रूपैयाँ तिर्नुपर्नेछ । प्याराग्लाइडिङमा एकपटकमा २० मिनेटसम्म उड्न सकिनेछ ।

सुर्खेतमा यसअघि २०७० सालमा परीक्षण उडान भए पनि नियमित प्याराग्लाइडिङ सञ्चालन भने हुन सकेको थिएन । अब भने नियमित सेवा प्रदान गर्ने सञ्चालक कम्पनीले जनाएको छ । वेलकम प्याराग्लाइडिङ प्रालिले पोखराको बाबु एडभेन्चरसँग साझेदारी गरेर उडानका लागि १२  चालक सुर्खेत भित्र्याएको छ । 

salt training

कमेन्ट गर्नुहोस्