
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार पीडित व्यक्तिहरूको गुनासोलाई समयमै सम्बोधन गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएका छन् ।
आइतवार काठमाडौंको बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको कार्यालयमा अनुगमन गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगार पीडित व्यक्तिहरूको गुनासो बुझ्न र समस्या समाधानका लागि ढिलो नगर्न विभागलाई निर्देशन दिएका हुन् ।
आफूले अनुगमनका क्रममा विभागका कर्मचारीहरूले पीडितको समस्या समाधानमा चासो नदेखाएको पाएको भन्दै विभागका कर्मचारीहरूले कार्यशैलीमा सुधार गर्न पनि उनले निर्देशन गरे ।
मन्त्री श्रेष्ठले वैदेशिक रोजगार विभागलाई कसरी सुधार गर्ने, विभागका समस्याहरू के–के छन् र पीडितका गुनासोलाई कसरी छिटोभन्दा छिटो सुनुवाइ गर्न सकिन्छ भन्ने विषयमा विभागका महानिर्देशक, निर्देशकलगायतका कर्मचारीहरूले छलफल गरी मन्त्रालयमा पेश गर्न पनि आग्रह गरे ।