
शेयर बजार मापक नेप्से परिसूचक आइतवार ४०.५७ अंकले घटेको छ ।
साताको पहिलो दिन नेप्से १.४१ प्रतिशतले घटेर २८३६.१७ बिन्दुमा आएको छ । बजार घटेको भए पनि शेयर बजारमा पाँच अर्ब ८३ करोड ६४ लाख रूपैयाँको कारोबार भएको छ ।
कारोबार भएकामध्ये २२८ कम्पनीको एक करोड ६ लाख ५१ हजार ७५४ कित्ता शेयर ७३ हजार १९२ पटक कारोबार भएको छ ।
शेयर बजारमा सबै समूहको सूचक घटेको छ । बजार घटेको दिन नेपाल हाइड्रो डेपलपर्सका लगानीकर्ताले भने कमाएका छन् ।
यसका लगानीकर्ताले ८ प्रतिशतले कमाएका छन् भने एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट र शिखर इन्स्योरेन्सका लगानीकर्ताले तीन प्रतिशत भन्दा बढीले कमाएका छन् ।
पछिल्लो समय निरन्तर बढिरहेको विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरका लगानीकर्ताले भने सबैभन्दा बढी गुमाएका छन् । यसको शेयर मूल्य आइतवार १० प्रतिशतले घटेर ऋणात्मक सर्किटसमेत लागेको छ ।
१४ प्रतिशतको लाभांश घोषणा गरेकै दिन नेपाल लाइफको शेयर मूल्य भने घटेको छ । नेपाल लाइफले बढी प्रतिफल दिने आशा गरेका लगानीकर्ताले कम लाभांश घोषणापछि भने बढेको शेयरको बिक्री चापका कारण आइतवार सबैभन्दा बढी कारोबार नै यसैको भएको छ ।
नेपाल लाइफको आइतवार ४ हजार पटकको कारोबारबाट ४२ कारोड ४७ लाख रूपैयाँको शेयर किनबेच भएको छ । यसका लगानीकर्ताले ७.६१ प्रतिशतले गुमाए ।
साथै बुद्धभूमि हाइड्रोपावरका लगानीकर्ताले पनि ६.४५ प्रतिशतले गुमाएका छन् । बुद्धभूमि र विन नेपालको शेयर मूल्य गत सातासम्म लगातार बढिरहेको थियो ।