डडेल्धुरा, १७ असार– प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाली कांग्रेसले बहुमत स्थानीय तहमा जीत हासिल गरेको छ । ७ स्थानीय तह रहेको डडेल्धुरामा नेपाली कांग्रेसले ४, नेकपा एमालेले २ र नेकपा माओवादी केन्द्रले एक स्थानीय तहमा जीत हासिल गरेका छन् ।
नेपाली कांग्रेसले डडेल्धुराको गन्यापधुरा गाउँपालिका, आलीताल गाउँपालिका, भागेश्वर गाउँपालिका र परशुराम नगरपालिकामा जीत हासिल गरेको हो ।
गन्यापधुरा गाउँपालिकामा कांग्रेसका नवलबहादुर मल्ल ३ हजार ३६९ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेकपा एमालेका वीरेन्द्र मल्लले १ हजार ९ सय ४६ मत प्राप्त गरे ।
गन्यापधुराको उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै कमलादेवी ठगुन्ना ३ हजार ४ सय ७ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी कृष्णादेवी पनेरु (ओझा)ले १७७३ मत प्राप्त गरिन् ।
आलीताल गाउँपालिकामा कांग्रेसका बलबहादुर गुरुङ २६६१ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जगत पार्कीले २०९८ मत प्राप्त गरे ।
आलीतालको उपाध्यक्षमा पनि कांग्रेसकै जलाकुमारी बिष्ट २२४२ मत ल्याएर विजयी भइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी १५१३ मत प्राप्त गरिन् ।
भागेश्वर गाउँपालिकाको अध्यक्षमा कांग्रेसकी कौशिल भट्ट २००७ मत ल्याएर विजयी भइन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विष्णुबहादुर ठकुराठीले १८४४ मत प्राप्त गरे ।
भागेश्वरको उपाध्यक्षमा कांग्रेसका उम्मेदवार पद्मबहादुर बोहरा १८४४ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी कमला मालीले १४९५ मत ल्याइन् ।
जिल्लाको दोस्रो नगरपालिका परशुरामको मेयरमा नेपाली कांग्रेसका भीमबहादुर साउँद विजयी भएका छन् । उनले ४१२० मत प्राप्त गरे ।
परशुरामको उपमेयरमा पनि नेपाली कांग्रेसकी कलापती बोहरा ४२१३ मत ल्याएर विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी बिमला महता ३६३८ मत प्राप्त गरिन् ।
नेकपा एमालेले जिल्ला सदरमुकाम रहेको अमरगढी नगरपालिकामा जीत हासिल गरेको छ । अमरगढीको मेयरमा नेकपा एमालेका विशेश्वर प्रसाद ओझा ३७६८ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डिल्लीराज जोशीले ३६४० मत प्राप्त गरे ।
अमगरढीको मेयरमा एमालेकी संगिता भण्डारी ३५१७ मत ल्याएर विजयी भइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी पार्वती देवी झुकाल ३३०९ मत ल्याइन् ।
नवदूर्गा गाउँपालिकाको अध्यक्षमा एमालेका कविन्द्रबहादुर बिष्ट २९६९ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लक्ष्मीप्रसाद अवस्थीले २७४५ मत प्राप्त गरे ।
नवदूर्गाको उपाध्यक्षमा भने नेपाली कांग्रेसकी डम्बरी देवी ओली विजयी भइन् । ओलीले ३७०० मत ल्याएर विजयी हुँदा नेकपा एमालेकी उम्मेदवार १२७८ मतमा सीमित रहिन् ।
जिल्लाको अजयमेरु गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । अजयमेरुको अध्यक्षमा माओवादीका उमेशप्रसाद भट्ट २६९० मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धनबहादुर साउँदले १८४० मत प्राप्त गरे ।
अजयमेरुको उपाध्यक्षमा पनि माओवादीकै कलावती भाण २१७१ मत ल्याएर विजयी भइन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी कमला बिष्टले १७७५ मत प्राप्त गरिन् ।
तरपनि एमाले बलियो बहुदल आएपछि भएका सबै चुनावमा डडेल्धुरामा नेपाली कांग्रेसले एकलौटी जित्दै आएको थियो । तर यसपटक सदरमुकाम रहेको अमगरढी नगरपालिकाको मेयरमा नेकपा एमाले विजयी भएपछि डडेल्धुरामा कांग्रेसको उपस्थिति कमजोर भएको आकलन गरिएको छ ।
यसअघि सम्पन्न संविधान सभाका दुईवटै चुनावमा नेकपा एमालेले जिल्लाभरबाट ७ हजारभन्दा बढी मत प्राप्त गर्न सकेको थिएन । संविधानसभाका दुईवटै निर्वाचनमा माओवादी केन्द्र दोस्रो दलका रुपमा अगाडि आएको थियो । तर यसपटक भने एमालेले कांग्रेस विरुद्ध बलियो उपस्थिति देखाएको छ ।
नेकपा एमालेले जिल्लाभर संगठन सुधार गरेकाले अब हुने प्रादेशिक तथा संघीय चुनावमा पनि डडेल्धुरामा एमालेल ‘राम्रै’ मत पाउने धेरैको आकलन छ ।