
सुदूरपश्चिमको पर्यटकीय क्षेत्र बडिमालिका क्षेत्रको प्रवद्र्धनका लागि हेली टूर आयोजना गरिने भएको छ ।
नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा आगामी फागुन १ गतेदेखि १० दिनका लागि पहिलो चरणमा विभिन्न प्याकेजसहित टूरको आयोजना गर्न लागिएको नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) सुदूरपश्चिम प्रदेशले काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
बोर्डसँगै सुदूरपश्चिम प्रदेश सरकार र खप्तड राष्ट्रिय निकुञ्ज प्रवद्र्धक तथा नाट्टा सुदूरपश्चिम प्रदेश, माउन्टेन हेलिकोप्टर प्रालि, नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश र होटल व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशको सहकार्यमा आयोजना गरिने प्याकेजमा दिपायल खप्तड दिपायल, झिग्राना खप्तड झिग्राना, धनगढी र महेन्द्रनगरदेखि झिग्राना, दिपायल बडिमालिका दिपायल, दिपायल खप्तड बडिमालिका र साफेबगर बडिमालिका साफेबगरलगायत स्थानबाट सो क्षेत्रको अवलोकन गर्न जान सकिने व्यवस्था मिलाइएको छ ।
यात्रुलाई स्थानको हिसाबले १२ हजारदेखि ४० हजार रुपैयाँसम्मको प्याकेज उपलब्ध गराइने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण शाहले आर्थिक विकासका लागि आन्तरिक पर्यटनलाई चलायमान बनाउन आवश्यक रहेको बताए । कोरोनाले सुस्ताएको पर्यटनलाई चलायमान बनाउन कार्यक्रम सहयोगी हुने उनले विश्वास व्यक्त गरे ।
बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले सुदूरपश्चिम प्रदेश भारतका विभिन्न शहरसँग जोडिएकाले यो कार्यक्रममा भारतीय पर्यटकलाई समेत ल्याउन सकिने बताए ।
नाट्टाका केन्द्रीय अध्यक्ष अच्युत गुरागाइँले सुदूरपश्चिम प्रदेश पर्यटनका लागि ‘भर्जिन ल्याण्ड’ भएको उल्लेख गर्दै कार्यक्रमले सो क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने धारणा राखे । नाट्टा सुदुरपश्चिम प्रदेशका सल्लाहकार नरेन्द्रदेव भट्टले सुदूरपश्चिम प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेकाले आर्थिक विकासका लागि त्यसको प्रवद्र्धन गर्न आवश्यक रहेको बताए ।
माउन्टेन हेलिकोप्टरका महाप्रबन्धक डीलबहादुर ओलीले नाफाभन्दा पनि पर्यटन प्रर्वद्धनका लागि लागत मूल्यमै कम्पनीले टूर प्याकेज ल्याएको जानकारी दिए ।