२४ जेठ २०८३, आइतबार

भक्तपुर अस्पतालमा बालबालिकाका लागि आईसीयू सेवा

भक्तपुर अस्पतालमा बालबालिकाका लागि आईसीयू सेवा

स्थापनाको ११९ वर्षपछि भक्तपुर अस्पतालमा पहिलोपटक बालबालिकाका लागि आईसीयू सेवा आइतवारदेखि शुरू हुने भएको छ ।

अस्पतालमा वर्षौंदेखि प्रसूति वार्ड सञ्चालनमा रहे पनि बालबालिकाका लागि आईसीयू सेवा नहुँदा आकस्मिक अवस्थामा आमा र बच्चालाई अन्य अस्पताल रिफर गर्नुपर्ने अवस्था थियो । अब सो अवस्थाको अन्त्य हुने भएको छ ।
    
भक्तपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुमित्रा गौतमले अस्पतालमा पहिलोपटक बच्चाका लागि भेन्टिलेटर सहितको एनआईसीयू सञ्चालनमा ल्याउन सफल भएको बताए । 

उनले भने, ‘प्रसूति सेवा राम्रो रहेको भक्तपुर अस्पतालमा बच्चाको आईसीयू नहुँदा बेला बेलामा समस्या हुने गरेको थियो, अब त्यसको अन्त्य भएको छ, २० शय्याको एनआईसीयू सञ्चालनको तयारी पूरा भएको छ ।’ 
    
आगामी फागुन १ गतेदेखि बच्चाका लागि १० शय्या र १८ वर्षभन्दा मुनिकाका लागि १० शय्याको  भेन्टिलेटरसहितको आईसीयू सञ्चालनमा आउने गौतमले जानकारी दिए । आवश्यक सबै तयारी पूरा गरेर जनशक्ति समेत परिचालन गरिएको छ । ३ वर्ष अगाडिसम्म आईसीयू नै नभएको भक्तपुर अस्पतालमा मेसु डा. गौतम आएपछि अस्पतालको मुहार फेरिएको छ । अस्पतालमा डेढ वर्षदेखि भेन्टिलेटर सहितको १६ आईसीयू सञ्चालनमा छ ।
    
मेसु डा. गौतमका अनुसार भेन्टिलेटर सहितको ६ शय्याको आईसीयू कोरोना संक्रमितका लागि प्रयोग भइरहेको छ भने भेन्टिलेटर सहितको १० शय्याको आईसीयू अरु बिरामीका लागि प्रयोग भइरहेको छ । आइतवारदेखि बच्चाको २० शय्याको आईसीयू शुरू भएसँगै भक्तपुर अस्पतालमा भेन्टिलेटर सहितको ३६ शय्याको आईसीयू सञ्चालन हुनेछ ।

डा. गौतमले भने, ‘भक्तपुर अस्पतालमा उपचारका लागि आएका बिरामीले अब आईसीयू छैन, डाक्टर छैनन्, सुविधा छैन भनेर अन्यत्र जानु पर्दैन, भक्तपुर अस्पताल बिरामीलाई निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा दिनसक्षम भएको छ ।’ 

नेपालमा कोरोनाको पहिलो लहर शुरू भएपछि भक्तपुर अस्पतालमा डा. गौतमले ६ शय्याको आईसीयू सञ्चालनमा ल्याएर कोभिडका बिरामीको उपचार शुरू गरेका थिए । अस्पतालले अक्सिजन समेत उत्पादन शुरू गरेको छ । 

अस्पतालले सञ्चालनमा ल्याएको लिक्विड प्लान्टबाट दैनिक ५० सिलिन्डर अक्सिजन उत्पादन भइरहेको छ भने फागुन २ गतेदेखि ग्याँस अक्सिजन पनि उत्पादन शुरू गर्नेछ । उनले भने, ‘फागुन २ गतेदेखि दैनिक १५० सिलिन्डर ग्यास अक्सिजन उत्पादन शुरू गर्दैछौं, लिक्विड र ग्याँस गरेर २०० सिलिन्डर अक्सिजन उत्पादन हुन्छ, अब अक्सिजनको अभाव हुँदैन, हामी अरु अस्पताललाई पनि अक्सिजन दिन सक्छौं ।’ 

भक्तपुर अस्पतालको सबै वार्डमा अक्सिजन फाइप जडान गरी वितरण शुरू गरेसँगै सिलिन्डर घिसार्दै शय्यामा लैजानुपर्ने समस्याको पनि अन्त्य भएको छ । कोरोना भाइरस संक्रमणको महामारीले अल्जाइमरका रोगी बढेपछि अस्पतालले निःशुल्क अल्जाइमर क्लिनिक समेत सञ्चालनमा ल्याएको छ ।

अस्पतालले मनोरोग विशेषज्ञसहितको सेवा सञ्चालन गर्दै अल्जाइमर अर्थात् बिर्सने रोगको उपचार शुरू गरेको हो । कोरोना संक्रमणले मानिसमा डर, त्रास बढेको, मनोबल घट्दै गएको, चिन्ता बढ्दै गएको र स–साना कुरामा पनि त्रासका कारण चिन्ता लिने क्रम  बढ्दै गएपछि अस्पतालमा अल्जाइमरको सेवा समेत सञ्चालनमा ल्याइएको छ ।

अस्पतालले सेवा विस्तार गर्नुका साथै बेरुजु शून्यमा झारेको छ । मेसु डा. गौतम आएपछि भक्तपुर अस्पतालमा भएको सुधारकै कारण अस्पताल सुदृढीकरण मूल्यांकन ३८ बाट ८२ पुर्‍याउन सफल भएपछि बागमती प्रदेश सरकारबाट यस वर्ष उत्कृष्ट अस्पतालको पुरस्कार समेत पाउन सफल भएको छ । ३ वर्ष अगाडिसम्म रिफर सेन्टरको रूपमा परिचित यस अस्पतालमा अस्पतालमा दैनिक ८०–१५० जनासम्म बिरामी आउने गरेकामा अस्पतालको सेवामा सुधार भएपछि दैनिक ७५०–८०० बिरामी आउन थालेका छन् ।

अस्पतालमा बिरामीको बढ्दो चाप र सेवा विस्तारका कारण भवन अभाव भइरहेको अवस्थामा साझा औषधि लिमिटेडले ओगटेको भवन नछाड्दा नयाँ निर्माण गर्न सकिएको छैन । साझालाई भवन छाड्न पटक–पटक आग्रह गर्दा पनि अटेर गरेको अस्पतालले जनाएको छ । – रमेश गिरी/रासस

salt training

कमेन्ट गर्नुहोस्