०९ असार २०८३, मंगलबार

परिवर्तनको नेतृत्व गर्ने नेता र पार्टीलाई बदनाम गराउने काम भइरह्यो : प्रचण्ड

परिवर्तनको नेतृत्व गर्ने नेता र पार्टीलाई बदनाम गराउने काम भइरह्यो : प्रचण्ड

पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरु जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन लागिरहेको टिप्पणी गरेका छन् । 

२७ औं जनयुद्ध दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै आइतवार बिहान यस्तो टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्,'देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरु जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन र परिवर्तनको नेतृत्व नेता र पार्टीलाई बदनाम गर्न अहिले पनि लागिरहेका छन् । २७ औं जनयुद्ध दिवसको सन्दर्भमा हाम्रो पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता र शुभेच्छुक/शुभचिन्तक आम जनसमुदायलाई एकतावद्ध भएर सबै खाले प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्नका लागि अगाडि बढ्न अपील गर्दछु ।'

उनले नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्वको थियो र अहिले पनि रहेको जनाएका छन् ।

'नेपाली राजनैतिक र सामाजिक परिवर्तनको इतिहासमा पनि यो मुक्तियुद्धका रुपमा स्थापित भइसकेको छ,' प्रचण्डले भनेका छन्,'जनयुद्धको जगमा सम्पन्न भएको ०६२÷६३ को संयुक्त जनआन्दोलन पश्चात मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा संस्थागत भएको छ । संविधानसभामार्फत नयाँ संविधान निर्माण हुनु र संविधानले मुलुकलाई संघीय गणतन्त्रात्मक शासन प्रणालीका साथै धर्मनिरपेक्ष, समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनु पनि जनयुद्धकै योगदान थियो भन्ने कुरामा दुईमत हुनै सक्दैन ।'

 

प्रचण्डले जनयुद्ध दिवसलाई ऐतिहासिक भनेका छन् । 

उनले विज्ञप्तिमा लेखेका छन्,'यस ऐतिहासिक सन्दर्भमा माओवादी जनयुद्धमा सहभागी भएका र माओवादी पहिचान बनेका विभाजित माओवादी नेता तथा कार्यकर्ता तथा शान्ति र संविधानको बाटोमा सहकार्य गर्दै आएका सम्पूर्ण शक्तिहरूमा जनयुद्धका उपलब्धी एवं संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र शान्ति सम्झौताको मर्म र भावना अनुसार अगाडि बढ्न विशेष अनुरोध गर्दछु ।'

छरिएर रहेका माओवादी घटकहरुलाई देशको अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै एकतावद्ध हुन समेत उनले आग्रह गरेका छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्