०१ असार २०८३, सोमबार

गठबन्धमा पराकम्प !

फागुन १, २०७८
गठबन्धमा पराकम्प !

संसद्बाट आउने सोमवार एमसीसी अनुमोदन गर्नुपर्ने प्रधानमन्त्रीको प्रस्ताव सत्ता गठबन्धनका दुई दलले अस्वीकार गरेका छन्।

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले शनिबार बरु सोमबारको प्रतिनिधिसभा बैठक केही दिन सार्न आग्रह गरेका हुन्। । स्थानीय तह निर्वाचनपछि मात्रै एमसीसी अनुमोदन गर्नुपर्ने अडान दुवै जनाले दोहोर्‍याएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा, दाहाल र नेपालबीच शनिबार बालुवाटारमा छलफल भएको थियो।

अमेरिकाले भने एमसीसी छिटो अनुमोदन गर्न 'दबाब' बढाएको छ। सहायक विदेशमन्त्री डोनाल्ड लूले बिहीबार प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष दाहाललाई फोन गरी अलमल नगर्न भनेका थिए । तर, गठबन्धनका दुई दल तत्कालै एससीसी अनुमोदनका पक्षमा नउभिएपछि शनिबार भएको तीन नेताको छलफल बिनानिष्कर्ष टुंगिएको छ। छलफलमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू र वरिष्ठ अधिवक्ता गोविन्द बन्दीलाई पनि राखिएको थियो।

तीन नेताको छलफलको प्रारम्भमै प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदन गर्नुपर्ने प्रस्ताव गरेका थिए। 'एमसीसी संसद्मा लैजानै ढिलो भयो', प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'अब बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने वातावरण बनाउनुहोस्। तपाईंहरुको धारणा संसद्मा राख्नुहोस् । जे निर्णय हुन्छ त्यही गरौं।'

प्रतिनिधिसभा बैठक सोमबार तोकिएको छ। 'एमसीसीको विषयमा पहिला विस्तृत बुझ्नुहोस् । पार्टीका अन्य साथीहरूलाई पनि बुझाउनुहोस्,' देउवाको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, 'सदनमा छलफल गरौं। सदनमै लैजान नदिने पनि हुन्छ ?' गठबन्धनका दलहरूले नमाने पनि एमसीसीलाई संसद्को निर्णय प्रक्रियामा लैजानुपर्ने दबाब कांग्रेसमा बढ्दो छ।

माओवादी केन्द्र अध्यक्ष दाहाल र एकीकृत समाजवादी अध्यक्ष नेपालले भने स्थानीय तहको चुनावअघि एमसीसी टेबलमा लैजानै नसकिने अडान प्रधानमन्त्रीसँग राखेका थिए।

दाहालले बरु संसद् बैठक दुई दिन पर सार्नुपर्ने बताएका थिए। नेपालले सबै दलबीच साझा धारणा बनाएर एमसीसीलाई संसद्मा टेबल गर्नुपर्ने बताएका थिए। 'जबरजस्ती एमसीसी सदनमा लगियो भने पनि आगामी निर्वाचन बिथोलिन्छ,' नेता नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो. 'त्यसैले अहिले नै अगाडि लैजाऔँ भन्नेतर्फ नलागौँ। चुनावपछिको समय मागौँ। त्यतिबेलासम्म एउटा वातावरण बन्छ।' अन्नपूर्ण पोस्टमा राधा खनालले खबर लेखेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्