
काठमाडौं, १७ असार - ‘सरोगेट मदर’ अर्थात अरुको बच्चा जन्माइदिन आफ्नो कोख भाडामा लगाउने आमाको कथाका बारेमा धेरै नेपाली अहिले पनि जानकार नहुन सक्छन् । नेपालमा आमाको कोख भाडामा लगाउने चलन शुरु भएको धेरै भएको छैन । न त यस बारेमा पर्याप्त चर्चा भएको छ, न यसका जोखिम वा सकारात्मक पक्षबारे समीक्षा भएको पाइन्छ ।
यस्तो नितान्त नौलो विषयवस्तुलाई उठान गरेर एक नेपाली चलचित्र बनेको छ र त्यो प्रदर्शनमा आइसकेको छ ।
चलचित्र ‘कारखाना’ ले आफ्नो कोख भाडामा लगाउन वाध्य पारिएकी महिलाको कथा, विद्रोह र नारी आवाजलाई फिल्मको माध्यमबाट उठान गर्ने जमर्को गरेको छ ।
आमाको कोख भाडामा लगाउने चलन पश्चिमी संस्कृतिमा व्याप्त छ । पछिल्लो समय यसले संसारका धेरै मुलुकमा प्रवेश पाएको छ । तर यस बारेमा सकारात्मक या नकारात्मक प्रतिक्रिया जारी छन् ।
नेपालमा यस्तो प्रचलन भित्रिएकोमा व्यापक चर्चा छ । अरुको बच्चा जन्माइदिन आमाको कोख भाडामा लगाउने विषय नेपाली समाजमा पाच्य हुने नदेखेरै हुनसक्छ, यो विषय त्यति धेरै खुल्ला बहसमा ल्याइएको छैन । यद्यपि नेपालको सर्वोच्च अदालतले आमाको कोख भाडामा कस्तो अवस्थामा लगाउन पाइने वा नपाइने भन्ने वारेमा व्याख्या गरिसकेको छ ।
यो पृष्ठभूमिमा चलचित्र कारखानाले एउटा चुनौती मोलेको छ – गम्भीर विषयवस्तु छनौट गरेर । यो चलचित्रमा एक किशोर युवतीलाई प्रेमको जालमा पारेर कोख भाडामा लगाउन कसरी वाध्य पारिन्छ, उनले कतिबेला त्यो थाहा पाउँछिन्, त्यसको बदला लिन कोख भाडामा लगाउने आमाहरू बस्ने ठाउँबाट कसरी भाग्छिन्, भागेपछि उनलाई कसरी सताइन्छ, त्यसबाट कसरी बच्छिन, उनको कोखमा जन्मेको बच्चा कसरी उनी दलालहरुको हातमा जान नदिन संघर्ष गर्छिन् भन्ने मार्मिक विषयलाई सरल र रोचक ढंगमा प्रस्तुत गरिएको छ ।
मसालेदार स्वादको फिल्ममा केही खुराक पस्केर सिनेमामार्फत सन्देश दिन खोजिएको चलचित्र ‘कारखाना’ ले नयाँ विषयवस्तुलाई उठान गरेको पक्कै हो ।
आफ्नो प्रेम प्राप्तिका लागि बुबासँग विद्रोह गरि भागेर काठमाडौं पुगेकी शान्ति (वर्षा शिवाकोटी) प्रेमका खातिर कसरी आफ्नो कोखमा अर्काको बच्चा जन्माइदिने अवस्थामा पुग्छिन् र कसरी विशाल (सुशील श्रेष्ठ) सँग उसको भेट पनि हुन्छ भन्ने बुझ्नका लागि चलचित्र हेर्नुपर्ने हुन्छ ।
यो एक रिभेन्ज (बद्लाभावमा केन्द्रित) कथा पनि बन्न पुगेको छ । चलचित्रकी मुख्य पात्र शान्तिले आफ्नै प्रेमीसँग बदला लिन चाहन्छिन् । किनभने उनको प्रेमीले उनीसँग प्रेम गरेको हुँदैन, उनको कोखमा अरुको बच्चा जन्माउने धन्दा चलाइरहेको खुल्छ ।
बदला लिनुको कारण धोका हो । आफ्नो कोखलाई कारखाना बनाइनुको विद्रोह हो । उनको त्यो रिभेन्ज यात्रामा विशाल (सुशील श्रेष्ठ) ले साथ दिन्छन् । पूरै कथा शान्तिको वरिपरि घुमेको छ । शान्तिको जीवनमा घुमेको नौ महिने चक्र नै फिल्मको मुख्य कथा हो ।

सारांशमा भन्ने हो भने चलचित्रको विषयवस्तु उत्कृष्ट छ । फिल्मको सबैभन्दा बलियो पक्ष यसको कथा नै हो ।
कथामा समाविष्ट चोटिला र वजनदार संवादले चलचित्रलाई स्वादिलो बनाएको छ । वर्षा र सुशील प्रेममा पर्लान् कि भन्दाभन्दै सिनेमा सकिन्छ । तर त्यतिञ्जेलसम्म दर्शकको मनमा पात्रहरुले स्थान बनाइसकेका हुन्छन्, त्यो नै कथाको सबल पक्ष हो । अर्थात् पूरै फिल्मको बलियो पक्ष भन्नु कथानक पक्ष पनि हो ।
पात्रलाई त्यति फरक रुपमा प्रयोग नगरिए पनि सबै कलाकारको अभिनय राम्रो देख्न सकिन्छ । वर्षा शिवाकोटीले आफ्नो अभिनयमा निखारता ल्याएकी छिन् । उनको चरित्रलाई ‘सरोगेट मदर’ कै रुपमा पाउँछन् दर्शकले । जिद्दी स्वभावकी गाउँले युवतीको भूमिकामा देखिएकी वर्षा सक्दो सामान्य बन्न खोजेकी छिन् । वर्षाको चरित्रलाई निर्देशकले गतिशील बनाइदिएका छन् । दर्शकलाई वर्षाको यही चरित्रले बाँध्न मद्दत गर्छ ।
आफूले मन पराएकी युवतीलाई जस्तोसुकै अवस्थामा पनि सहयोग गर्न तयार हुने पात्रका रुपमा उभ्याइएको छ सुशीललाई । उनको चरित्र एकनासको लाग्छ तर सुशील त्यही चरित्रमा ‘फिट’ देखिएका छन् । हेटौंडाको स्थानीय युवाको भूमिकामा देखिएका सुशीलले पात्रअनुसार प्रस्तुत हुने प्रयास गरेका छन् ।
अभिनयमा सबै कलाकारले चरित्रलाई न्याय गरेका छन् । माताजीको भूमिकामा देखिएकी मौसमी मल्लले ‘बोल्ड’ प्रस्तुति दिएकी छिन् । अन्य कलाकारको अभिनय पनि त्यति फितलो छैन । तर, निर्देशक अमरदीप सापकोटाले चरित्रलाई पात्रअनुसार फरक भूमिकामा प्रस्तुत गर्न सकेको भए अझै राम्रो हुनसक्थ्यो । अधिकांश नेपाली निर्देशकजस्तै उनी पनि चरित्र चित्रणमा चुकेका छन् । चलत्रित्रमा केही ड्रोन शटहरु कलात्मक लागेपनि छायांकन पक्ष भने औसत छ । सिनेमाटोग्राफिमा नवराज उप्रेतीले मिहनेत गरेको देखिन्छ । सिनेमाका केही दृश्य सुन्दर लाग्छन् ।
समग्रमा चलचित्र राम्रो बन्न पुगेको छ । सिनेमाले दर्शकलाई अब के होला भन्ने कौतुहलता जगाइरहन्छ ।
यति हुँदाहुँदै पनि चलचित्र त्रुटिरहित भने छैन । पहिलो हाफको तुलनामा दोस्रो हाफ सशक्त देखिन्छ । चलचित्रको सम्पादन पक्षमा केही कमजोरी भेटिन्छन् । अर्को कमजोर पक्ष भनेको पाश्र्वधुन त्यति शक्तिशाली लाग्दैन । यद्यपि यसमा समावेश गीत संगीत भने राम्रा छन् ।
महिलाको कोखलाई कसरी कारखाना बनाइएको छ भन्ने विषयलाई चलचित्रमा उत्कृष्ट ढंगले उठान गरिएको छ । ‘कारखाना’ न धेरै नाटकीय लाग्छ, न धेरै वास्तविक । तर सिनेमा हेर्दा तपाईलाई झुर लाग्दैन ।
नेपाली सिनेमा हेर्ने दर्शकका लागि यो सिनेमा परिवारसँगै बसेर हेर्न मिल्ने सिनेमा बनेको छ । चलचित्रमा ग्ल्यामर कतैपनि छैन । गहनता छ । निर्देशकले कथावस्तु बलियो रोजेका छन् । फिल्म हेरिसक्दा ‘कारखाना’ भित्रको गहन कथाले तपाईमा पनि एक प्रकारको छाप छोडिसकेको हुन्छ ।