
लामो समयदेखि तरलताको समस्या भोग्दै आएका वाणिज्य बैङ्कहरूले लगानीयोग्य रकम जोहो गर्न फागुन महिनाका लागि ब्याजदर बढाएका छन् ।
माघ महिनाको अन्तिम दिन वाणिज्य बैङ्कहरूले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
सार्वजनिक गरिएको ब्याजदरअनुसार वाणिज्य बैङ्कहरूको अधिकतम ब्याजदर ११.०३ प्रतिशत पुगेको छ ।
वाणिज्य बैङ्कहरूको छाता सङ्गठन नेपाल बैङ्कर्स एसोसिएसनले फागुनदेखि निक्षेपको ब्याजदर बढाउने सहमति गरेको थियो ।
एसोसिएसनको शुक्रबार बसेको बैठकको निर्णयअनुसार फागुन १ गतेदेखि वाणिज्य बैङ्कहरूले व्यक्तिगत मुद्दतीमा ११.०३ प्रतिशत र संस्थागतमा १०.०३ ब्याजदर लागू हुने भएको छ ।
साथै साधारण बचत खातामा व्यक्तिगत मुद्दती खातामा भन्दा ५ प्रतिशतभन्दा कम र कल निक्षेपमा ३.०१५ प्रतिशत निर्धारण गरिएको छ ।
एसोसिएसनले राष्ट्र बैङ्कले दिएको ब्याजदरसम्बन्धी निर्देशनको पालना गर्दै अघिल्लो महिनाभन्दा औसतमा १० प्रतिशत बढी फागुन महिनामा बढाइएको जनाएको छ ।
राष्ट्र बैङ्कको निर्देशनअनुसार वाणिज्य बैङ्कहरूले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशतसम्म ब्याजदर बढाउन पाउने सहमति गरे पनि ब्याजदर बढाउने/नबढाउने निर्णय भने बैङ्क स्वयंकै हुनेछ ।
तर आफ्नो निक्षेप अर्कोमा जाने जोखिमलाई मध्यनजर गर्दै बैङ्क तथा वित्तीय संस्था अहिलेको अवस्थामा ब्याजदर अधिकतम बिन्दुसम्मै बढाउने प्रस्ट देखिएको छ ।
मङ्सिर महिनामा बढाएको निक्षेपको ब्याजदर पुस र माघ महिनामा पनि सोही कायम गरेका वाणिज्य बैङ्कहरूले फागुनमा बढाएका हुन् ।
ब्याजदर बढाए पनि निक्षेप सङ्कलन नहुने र बढेको ब्याजदरले खर्च मात्र बढाउने भन्दै दुई महिना वाणिज्य बैङ्कहरूले ब्याजदर तटस्थ राखेका थिए ।
फागुनका लागि भने एसोसिएसनलाई राष्ट्र बैङ्ककै उच्च व्यवस्थापनबाट निक्षेपको ब्याजदर बढाउन दिइएको सुझाव अनुसार ब्याजदर बढाइएको हो ।
विकास बैङ्क र फाइनान्सले पनि बढाए
बैङ्कर्स एसोसिएसनले ब्याजदरलाई खुला छोड्ने निर्णय गरेपछि विकास बैङ्क र फाइनान्स कम्पनीले पनि संस्था आफैँलाई ब्याजदर निर्धारण गर्न खुला छोडेका छन् ।
विकास बैङ्कहरूले पनि बैङ्क आफैँले नै ब्याजदर तोक्न पाउने गरी सहमति गरेका छन् ।
बैङ्कले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११.६५ प्रतिशतसम्म बढाउन पाउने सहमति गरेका छन् भने फाइनान्स कम्पनीले पनि केन्द्रीय बैङ्कको नियममा रहेर संस्था आफैँले ब्याजदर तोक्न पाउने सहमति गरेका छन् ।
फाइनान्स कम्पनीले राष्ट्र बैङ्कको नियमअनुसार अधिकतम ११.७१ प्रतिशतसम्म कायम गर्न पाउने गरी निर्णय गरेका हुन् । गोरखापत्र दैनिकमा खबर छ ।