
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाभियोग प्रस्तावबारे पार्टीमा छलफल गरेर मात्र धारणा बनाउने प्रतिक्रिया जनाएको छ ।
एमाले संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुवास नेम्वाङले हठात र अचानक महाभियोग प्रस्ताव दर्ता बताएका हुन् ।
‘महाभियोग प्रस्तावबारे हामीले भर्खर थाहा पायौं, सत्तापक्षले जे गर्नुभयो यो गम्भीर विषय हो । हामीसँग यसबारे केही छलफल गर्नु भएको छैन,’ नेम्वाङले लोकान्तरसँग भने, ‘हठात र अचानक यो कुरा जानकारीमा ल्याउनु भयो । हामी पार्टीमा छलफल गरेर निर्णय लिन्छौँ ।’
एमाले उपाध्यक्ष नेम्वाङले पार्टीका नेता र सांसदहरु काठमाडौं बाहिर रहेकोले नेताहरूसँग छलफल पछि औपचारिक धारणा बनाउने बताए ।
न्यायिक विचलन आएको भन्दै सत्ता गठबन्धनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसद सचिवालयमा आइतवार महाभियोग प्रस्ताव दर्ता गराएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एसले महाभियोग प्रस्ताव दर्ता गरेका हुन् । प्रस्तावमा ९८ जना सांसदले हस्ताक्षर गरेका छन् ।
संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश जबरा निलम्बनमा परेका छन् ।