
निर्वाचन आयोगले बिदाको दिन पनि नियमित कार्यसम्पादन गर्ने भएको छ ।
आगामी वैशाख ३० मा स्थानीय तह निर्वाचन तोकिएकाले आयोग र मातहतका कार्यालयहरूमा बिदाको दिनमा समेत नियमित कार्यसम्पादन गर्ने व्यवस्था मिलाइएको हो ।
साथै कार्यालय समय बिहान ९ देखि साँझ ६ बजेसम्म कायम गरिएको आयोगले जनाएको छ ।
यस्तै साताको दुई दिन सोमवार र बिहीवार अपरान्ह ४ बजे पत्रकार भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ ।
आगामी दिनमा स्थानीय तह निर्वाचनका सबै क्रियाकलापहरुलाई समेट्ने गरी निर्वाचन आयोगको दैनिक ई–बुलेटिन समेत प्रकाशन गर्ने योजना रहेको आयोगले जनाएको छ ।
आगामी प्रवक्ता–पत्रकार भेटघाट कार्यक्रम फागुन ५ गते बिहीवार हुनेछ ।