
नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावको स्वागत गरेको छ ।
बार एशोसिएसनका महासचिव लीलामणि पौडेलले विज्ञप्ति प्रकाशन गरेर भनेका छन्, ‘प्रधानन्यायाधीश राणाले राजीनामा नदिई लामो समयसम्म न्यायपालिकालाई बन्धक बनाइराखेको र राजनीतिक दलका नेताहरूले पनि न्यायपालिकाको गतिरोध अन्त्य गर्न पहल नगरेको महसुस भइरहेको अवस्थामा आज प्रतिनिधि सभामा प्रधानन्यायाधीशविरूद्ध महाभियोग प्रस्ताव दर्ता गरेको कार्यबाट नेबाएले उठाएको विषयप्रति जिम्मेवार भई सकारात्मक कदम चालेको महसुस भएको छ ।’
प्रधानन्यायाधीशविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भए पनि नेपाल बार एशोसिएसनको आन्दोलन भने नरोकिने पौडेलले बताए ।
बार एशोसिएसनले महाभियोग प्रस्ताव पारित गराउन सकारात्मक पहल गर्न पनि सांसदहरूलाई आग्रह गरेको छ ।
नेपाल बार एशोसिएसनले हरेक दिन बिहान ११ बजेदेखि १२ बजेसम्म सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्दै आएको छ ।