
प्रधानन्यायाधीशविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गरेपछि नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
मंगलवार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दलको बैठकका लागि सूचना प्राप्त भएको सांसद भीमसेनदास प्रधानले जानकारी दिए ।
सूचनामा बैठकको एजेण्डा भने तय गरिएको छैन । प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव र एमसीसीका विषयमा छलफल गर्न बैठक डाकेको हुन सक्ने सांसद प्रधानले बताए ।
सरकारको नेतृत्व गरेको कांग्रेससहित सत्ता गठबन्धनका प्रमुख तीन दलका ९८ सांसदले आइतवार बिहान प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए । प्रस्तावका विषयमा पार्टी संसदीय दलले खेल्ने भूमिकाका विषयमा छलफल गर्न बैठक बोलाइएको जनाइएको छ ।
संसद्को बैठक भने फागुन ४ गते बुधवारका लागि डाकिएको छ ।